विशाल बजारको ९८ प्रतिशत सेयर सरकारी स्वामित्वमा

विशाल बजारको ९८ प्रतिशत सेयर सरकारी स्वामित्वमा


न्युरोडमा रहेको विशाल बजार कम्पनी लिमिटेडको सेयर अब सरकारी स्वामित्वमा रहने भएको छ । करिब चार अर्ब रुपैयाँबराबरको सेयर स्वामित्व सरकारको नाममा कायम हुने बाटो खुलेको हो । लिमिटेडको गत ११ भदौको सञ्चालक समिति निर्णयबाट तीन अर्ब ९६ करोड रुपैयाँबराबरको सेयर सरकारी स्वामित्वमा ल्याउने निर्णय लिएको हो ।

सो निर्णयसँगै लिमिटेडको प्रबन्धपत्र र सेयर स्वामित्व सरकारको नाममा कायम गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाइ प्रकृया अगाडी बढाई सकेकोसञ्चालक समिति अध्यक्ष लवराज जोशीले बताएका छन् ।  कम्पनी रजिस्ट्रारबाट सहमति भएपछि लिमिटेडको ९८ प्रतिशत सेयर सरकारको नाममा आउने छ ।

विशाल बजारको कुल पूँजी ५ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये खाद्य संस्थानको १५, नेशनल ट्रेडिङ लिमिटेडको १४ र कृषि सामग्री कम्पनी लिमिटेडको पाँच प्रतिशत सेयर स्वामित्व छ । बाँकी सेयर भने व्यापारी र सर्वसाधारणको नाममा रहेको छ ।

सरकारी जग्गा निर्माण भई सञ्चालनमा रहे पनि लिमिटेडको स्वामित्व सरकारको नाममा आउन सकेको थिएन । यसअघि मंसिर ०६७ मा सर्वाेच्च अदालतले पनि त्यहाँको सेयर स्वामित्व सरकारको नाममा कायम गर्ने आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन । सर्वोच्चको आदेश विरुद्ध रिट परेपछि जेठ ०७२ मा सर्वाेच्चले सरकारकै पक्षमा फैसला दिएको दिएको थियो ।

आठ रोपनी चार आनामा विशाल बजारको भवन निमार्ण भएको छ । २०२५ सालमा स्थापना भएको विशाल बजार बहुदल आउनुअघि अञ्चलाधीश कार्यालय मातहत सञ्चालन हुँदै आएको थियो । ०४६ सालमा बहुदल आएपछि सेयरधनीहरुले चलखेल गरेर आफूखुशी भाडामा लगाउँदै अकुत सम्पत्ति कमाउँदै आएको आरोप समेत लाग्दै आएको छ ।

सरकारले हस्तक्षेप गरेर सेयर लिन नसक्दा लिमिटेडको करोडौं आम्दानी गुम्दै आएको छ । हालसम्म त्यहाँका सेयरधनी व्यापारीहरूले मनपरी ढंगले सटर भाडामा लगाएर करोडौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । पाँच हजार रुपैयाँको सटरलाई ४० हजार रुपैयाँबाट हालसम्म ३ लाख रुपैयाँसम्म भाडामा लगाएर आम्दानी गर्दै आएको आरोप व्यापारीमाथी लागेको छ ।

विशाल बजारमा तीन सय ९६ वटा सटर रहेका छन् । हाल लिमिटेडबाट सरकारलाई वार्षिक १५ करोड रुपैयाँमात्र आम्दानी भएको छ । त्यहाँको स्वामित्व सरकारका नाममा आउने हो भने वार्षिक अनुमानित ४५ करोड रुपैयाँसम्म सरकारलाई आउने देखिन्छ ।