- श्रीविक्रम भण्डारी
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टलाई स्पष्टिकरणको लागि पत्राचार गर्न लागेको समाचार प्राप्त भएको छ ।
मन्त्रालयले तुर्किमिस्तानमा हालै सम्पन्न पाँचौं एसियन इन्डोर मार्शल आर्टस् गेममा नेपाली खेलाडीहरुले देखाएको गैरजिम्मेवारी कदमको वारेमा जानकारी लिन स्पष्टिकरण सोधेको स्रोतले बताएको छ ।
स्पष्टिकरणमा अन्य के के कुरा सोधिएको छ, त्यसको जानकारी भने प्राप्त भएको छैन । स्मरण रहोस, यो प्रतियोगिताको ‘सेभ द मिसन’ राखेपका सदस्यसचिव केसवकुमार विष्ट थिए ।
तुर्किमिस्तानको अस्गावातमा नेपाली खेलाडीले विभिन्न बाहन बनाउँदै प्रतिस्पर्धामा सहभागिता नजनाएपछि अन्तराष्ट्रिय क्षेत्रमा नेपालको बदनाम भएको थियो ।
उक्त खेलमा राष्ट्रिय खेलकुद परिषदले चारवटा खेललाई स्वीकृति प्रदान गरेपनि अन्य चारवटा खेल कसरी समावेस भए त्यो विषय पनि चर्चाको विषय बनेको थियो ।
यी पछि थपिएका खेलका खेलाडीको गैरजिम्मेवारी र लापरवाहिले गर्दा नेपालको प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा धुमिलिन पुगेको थियो । जस्ले संचारमाध्यममा खुवै चर्चा पाएको थियो ।
यहि कुरालाई मध्यनजर गर्दै राखेपले हालै एक छानविन समितिको गठन गरेको छ । राखेपका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समितिलाई यसको जिम्मेवारी दिइएको छ ।
उक्त छानविन समितिलाई दस दिनभित्र प्रतिवेदन पेश गर्न राखेपले निर्देशन दिएको छ । छानविन समितिले सत्यतथ्य सहितको प्रतिवेदन राखेपमा बुझाएपनि अहिलेसम्म कुनै कारवाहि भएको छैन् । यो प्रतियोगिताको सन्दर्भमा पनि यस्तै नहोला भन्न सकिदैन ।
यसरी राखेपले छानविन समिति गठन गरिसकेको अवस्थामा मन्त्रालयले सोहि मुद्दामा सदस्यसचिव विष्टसंग स्पष्टिकरण मागेको छ । प्राप्त जानकारी अनुसार मन्त्री केसीलाई व्यापक दबाव परेका कारण विष्टसंग स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोतले बताएको छ ।
विष्टलाई स्पष्टिकरण सोध्नुको पछाडि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको विशेष भूमिका रहेको बुझिनमा आएको छ । केहि समयदेखि दाहाल र विष्टवीच वरियता विवादले सम्वन्ध चिसिन पुगेको हो । त्यसैले दाहाल विष्टलाई निचो देखाउन यस्तो हरकत गर्दै आएको स्रोतले बताएको छ ।
प्रतिक्रिया