गुरुङ विरुद्ध कारवाही रोक्न मन्त्रालयको हस्तक्षेप

गुरुङ विरुद्ध कारवाही रोक्न मन्त्रालयको हस्तक्षेप


  • श्रीविक्रम भण्डारी 

नेपाल तेक्वान्दो संघमा विगत चार दसकदेखि एकछत्र राज गर्दै आएका दीपराज गुरुङको कारवाहिको विरुद्धमा युवा तथा खेलकुद मन्त्रालयले हस्तक्षेप गरेको छ ।

प्राप्त जानकारीका अनुसार, तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले गुरुङ विरुद्धको कारवाही  रोक्न विशेष भूमिका निभाएका हुन् ।

तेक्वान्दोमा मौन खेलाडीको रुपमा परिचित पोखरेलले मन्त्री राजेन्द्रकुमार केसीसँग अनुयविनय गरि कारवाही रोक्न अनुरोध गरेको स्रोतको दावी छ ।

तत्कालिन तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुबवहादुर गुरुङले दीपराजले तेक्वान्दोमा गरेको अन्याय, अत्याचार, दमन, भष्ट्राचार र आर्थिक शोषणको वारेमा राष्ट्रिय खेलकुद परिषदमा उजुरी दर्ता गरेका थिए ।

त्यसपछि राखेपले देबकुमार अधिकारी (बद्री) को संयोजकत्वमा छानविन कमिटी गठन गरेको थियो । उक्त छानविन कमिटीले छानविनको प्रक्रिका अगाडि बढाउँदा उल्टै दीपराजले संघर्ष समिति गठन गरेर छानविन समितिलाई नै कारवाहि गर्नुपर्ने दबाव दिएका थिए ।

छानविन कमिटीलाई खारेज नगरे अर्थात कारवाहि नगरे उल्टै सदस्यसचिवले राजिमाना दिनुपर्ने माग उक्त संघर्ष समितिले राखेको थियो । छानविन समितिले छानविनका क्रममा विभिन्न सोधपुछ गरेपनि गुरुङले त्यसको गोलमोटल जवाफ दिदै आएको छ ।

त्यसपछि पछिल्लो पटक छानविन समितिले कडा रुपमा प्रस्तुत हुँदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा र महासचिव दीपराज गुरुङलाई स्पष्ट जवाफ दिन पत्राचार गरेको थियो । स्पष्ट जवाफ नपठाए गम्भिर कारवाहिका लागि परिषदमा सिफारिस गर्ने चेतावनी दिएको थियो ।

गुरुङ्कै निर्देशनमा बनेको संघर्ष समिति तुहिएपछि उनले उपाध्यक्ष हरिश्वर पोखरेललाई प्रयोग गरेको जानकारीमा आएको छ । त्यसपछि मन्त्री केसीले परिषदका सदस्यसचिवलाई गुरुङविरुद्धको कारवाहि अगाडि नबढाउन दबाव दिएको स्रोतले बताएको छ ।

त्यसपछि छानविन समितिले गत महिना गरेको पत्राचारको जवाफ दिनुको साँटो खेलकुद मन्त्री मार्फत दबाव दिन लगाएर गुरुङ आफ्नो बचाव गरिरहेको खुलासा भएको छ । यो घटनाको वारेमा सत्यतथ्य बुझ्न उपाध्यक्ष हरिश्वर पोखरेलसँग सम्पर्क गर्दा उनले आफुले कसैलाई बचाउन कुनै कार्य नगरेको बताएका छन ।

पोखरेलले आफ्नो यति ठूलो हैसियत नभएको प्रस्ट पार्दै उनले भने,‘जसले गल्ती गर्छ त्यो कारवाहिको भागिदार हुन्छ, गल्ती गर्नेलाई बचाउने म को हुँ र ?’

मन्त्रीसँगको सम्वन्धको वारेमा उनले आफु राजनितिक कार्यकर्ता नभएको बताए । आफुलाई लोकतान्त्रिक संघको सिफारिसमा १३ औं साग तयारी समितिको सदस्यमा मन्त्री ज्यूले राखेको हुनसक्ने प्रतिक्रिया दिए ।