खेलकुद मन्त्रालयको निर्णय २४ घण्टामै उल्टियो

खेलकुद मन्त्रालयको निर्णय २४ घण्टामै उल्टियो


  • श्रीविक्रम भण्डारी

‘कानुनी प्रक्रिया मिलेपछि मात्रै साग तयारी समिति गठन हुन्छ’

युवा तथा खेलकुद मन्त्रालयले गरेको एक निर्णय २४ घण्टामै उल्टिएको छ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको अध्यक्षतामा यहि असोज १७ गते मंगलवार १३ औं दक्षिण एसियली खेलकुद प्रतियोगिता (साग) तयारी समितिको गठन भएको थियो ।

तर कानुनी अड्चनका कारण उक्त निर्णय कार्यान्वयन नहुने भएको हो । सोहि कारण मन्त्रालयले आफुले गरेको निर्णय फिर्ता लिएको समाचार प्राप्त भएको छ ।

केसीको अध्यक्षतामा गठन भएको उक्त सात सदस्यीय समितिमा दावा गुरुङ (मनाङ), विजयकुमार बस्नेत राज (काठमाण्डौं), लिलेन्द्र प्रधान (काठमाण्डौं), हरिश्वर पोखरेल (तनहुँ , देवनारायण चौधरी (सप्तरी, विज्ञानराज शर्मा (काठमाण्डौं) र टासी घले (काठमाण्डौं) रहेका थिए ।

प्राप्त जानकारीका अनुसार मुलुकमा आचार संहिता लागु भएको र कुनै पनि समिति गठन गर्नुभन्दा पहिले निर्वाचन आयोगको स्वीकृति लिनुपर्ने आवश्यक भएकोले मन्त्रालयले उक्त निर्णय फिर्ता लिएको बुझिनमा आएको छ ।

यसरी मन्त्रालयले आफैले गरेको निर्णय चौविस घण्टा वित्न नपाउँदै फिर्ता लिएको हो । अव निर्वाचन आयोगको स्वीकृतिपछि मात्रै साग तयारी समिति गठन हुने जानकारी प्राप्त भएको छ ।

त्यस्तै मन्त्रालयका सचिव महेशकुमार दाहालले मन्त्रीलाई फसाउन यस्तो हरकत गरेको मन्त्रालय स्रोतले बताएको छ । मुलुकमा आचार संहिता लागेको अवस्थामा कुनै समिति गठन गर्न नपाउने जानकारी हुँदाहुँदै उनले मन्त्री केसीलाई असफल पार्न र विवादमा ल्याउन यस्तो निर्णय गर्न लगाएको थाहा भएको छ ।

सचिव दाहालको यो गैरकानुनी हरकत र गलत सल्लाहले अहिले मन्त्री केसी विवादमा परेका छन । त्यसपछि मन्त्री केसीले कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ भन्दै हचुवा भरमा कुनै पनि कार्य नगर्न भनि सचिव दाहाललाई फटकारेको समाचार स्रोत बताउछ ।

साथै यस्तो कार्य पुनः नदोहराउन चेतावनी दिएको जानकारी प्राप्त भएको छ । स्मरण रहोस, मन्त्रालयमा दाहालले आफुलाई सर्वेसर्वा भएको प्रमाणीत गर्न पटक पटक गैरकानुनी हरकत गर्दै आएका छन ।

पछिल्लो समय अवैधानिक ओलम्पिक कमिटी संगको साँठगाँठ, परिषदका सदस्य सचिवको वरियता विवाद र खेलकुदमा हस्तक्षेपका कारण दाहाल विवादमा तानिदै आएका छ ।

र पनि, मन्त्री केसीले दाहाललाई किन काखि च्यापिरहेका छन त्यो रहस्यको विषय बनेको छ । बत्तीमुनीको अँधेरोलाई किन अनदेखि गरिरहेका छन त्यो विडम्वनाको विषय बनेको छ ।

साग तयारी समिति गठनसंगै विवादमा परेपछि मन्त्री केसी संग सम्पर्क गर्दा उनले साग तयारी समिति गठन नभएको बताए । छलफल भएको हो, को को राख्ने भनेर प्रस्ताव मात्रै गरेको हो, निर्णय भएको छैन केसीले भने ।

यतिबेला आचार संहिता लागेको कारण समितिको गठन सम्वन्धि परामर्स भैरहेको पनि जानकारी गराए । कानुन अड्चन पार भएपछि मात्रै साग तयारी समिति गठन हुने केसीले दावी गरे ।