वन पैदावर बिक्रीबाट पचास लाख आम्दानी

वन पैदावर बिक्रीबाट पचास लाख आम्दानी


कञ्चनपुरको वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ । सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्रै सामुदायिक वनले वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएको छ ।

कागतीका पाँच हजार र आँपका ७०० रुखलाई वार्षिक रुपमा रु एकलाख ६५ हजार दिने गरी ठेक्का दिई आम्दानी गरिँदै आएको सामुदायिक वनका सचिव लोकेन्द्रराज जोशीले बताउनुभयो । “काठ, अदुवा, बेसार र ढुंगा उपभोक्तालाई न्यून शुल्कमा बिक्री गरी अन्य आम्दानी हुँदै आएको छ” उहाँले भन्नुभयो । सामुदायिक वनले गरेको आम्दानीमध्ये रु ३५ लाख रकम खर्चेर जंगली जनावर बस्तीमा छिर्न नदिनका लागि यस वर्ष झण्डै डेढ किलोमिटर क्षेत्रमा तारबार गरेको छ ।

“स्थानीय सडकमा ग्राभेल हाल्न, विद्यालयलाई कम्प्युटर, मन्दिर निर्माण गर्न र स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएका छौँ” सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले भन्नुभयो । सामुदायिक वनले अर्को वर्ष पिकनिक स्पट निर्माण गर्ने, नर्सरी व्यवस्थापन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा

सामुदायिक वनलाई विकास गर्ने, असहायलाई सहयोग रकम निरन्तर उपलब्ध गराउने र रोजगारीका अवसर सिर्जना गर्नमा भूमिका खेल्ने खालका कार्यक्रम ल्याउनका लागि योजना अघि सारेको छ । चार सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा एक हजार २०० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन विसं २०५४ मा स्थापना भएको हो ।