यि खानेतेलबाट हुन्छ क्यान्सर : ९ ब्राण्डका तेल अशुद्ध भएको प्रमाणित

यि खानेतेलबाट हुन्छ क्यान्सर : ९ ब्राण्डका तेल अशुद्ध भएको प्रमाणित


अस्थिर सरकारको मौका र कमिशनकै खेलका कारण बजारभरी गुणस्तहिन खाद्य बस्तुहरुको बिक्री वितरण भई रहेको खुलासा भएको छ । उद्योग सञ्चालकहरुसंग सरकारी कर्मचारीले लिदै आएको अनुचित फाइदा लिदै आम उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यमा खेलबाड गरिदाँ सम्म सरकारले कुनै कारबाही गर्न नसक्दा बजारभरी अशुद्ध खानेतेल खुला रुपमा बिक्री गरि रहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ब्राण्डको तेलका नमुना संकलन गरि परीक्षण गर्दा गुणतस्तहिन खानेतेल बिक्री भई रहेको खुलेको छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवः प्रवक्ता पूर्णचन्द्र वस्तीले भने,‘विभागले ९ ब्रान्डका खानेतेल परीक्षण गरेको थियो, उजुरीका आधारमा केही नमुना संकलन गरी परीक्षणका क्रममा कैफियत फेला परेको छ ।’

प्रबक्ता वस्तीले दिएको विवरण अनुसार बेन्जन, शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्राण्डको सनफ्लो, धारा ब्रान्ड, धारा हेल्थ, सिजीको सेफ ब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरू संकलन गरेको थियो । ती तेल मापदण्डविपरीत भेटिएको छ ।

९ वटा ब्रान्डको तेल परीक्षण गर्दा ३ वटामा एसिड भ्यालु बढी भेटिएको विभागले जनाएको छ । ती उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारबाही गरिने समेत विभागको तयारी रहेको छ ।  कैफियत फेला परेका तेलमा एसिड भ्यालु ० दशमलव ५ प्रतिशतभन्दा बढी भेटिएको छ । तेलमा एसिड भ्यालु बढी हुँदा अपचको समस्या देखा पर्छ । छालाको समस्या र पाचन प्रक्रियामा पनि गडबडी हुन्छ । क्यान्सर हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् ।

मापदण्डविपरीत भेटिएको तेल :-

बेन्जन

शिवशक्ति ब्रान्डको फेमेली

स्वस्तिक ब्राण्डको सनफ्लो

धारा ब्रान्ड धारा हेल्थ

सिजीको सेफ ब्रान्ड सनफ्लो

अमृत सनफ्लावर

फर्चुन सनफ्लावर

सनफ्लो

 शान्ति सोयाबिन

खाद्यले कैफियत भेटिएका उद्योगलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे पनि अहिले सम्म उजुरी परेका र अनुुन्धान भएका कुनै पनि उद्योगमाथी सरकारले कारबाही गर्न सकेको छैन् ।  फेमिली तोरी तेलको पेरोक्साइड भ्यालु ११ दशमलव ५३ मिलिइक्वीभेलेन्टर किलोग्राम फेला परेपछि उक्त उद्योगमा अनुगमन भएको थियो । तोरीको तेलमा पेरोक्साइड भ्यालु १० मिलिइक्विमेलेन्टर किलोग्रामभन्दा कम हुनुपर्ने खाद्यविज्ञहरू बताउँछन ।

फेमेली तेलका लगानीकर्ता एवं सांसद राजकुमार अग्रवाल आफुलाई कारबाही गर्न कालोबजारी ऐनअनुसार नमिल्ने दाबी गर्दै आएका छन् ।  राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई न्याय र दोषी व्यवसायीलाई सजायको भागीदार बनाउन खाद्य ऐन तत्काल परिमार्जन गर्नुपर्नेमा जोड दिदै आएका छन् । उनले उपभोक्ताको स्वास्थ्यसंग खेलबाड गर्नेलाई एक हजार रुपैयाँ मात्रै जरिवाना गरी उन्मुक्ति दिनु जायज नहुने समेत बताए ।

यसैबीच, बाराको जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसिएको भेटिँदा पनि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ । भदौ २७ गते आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिन संरक्षण विभागको टोलीले उद्योगमै पुगेर त्यहाँ उत्पादित खानेतेल परीक्षण गर्दा त्यसमा अखाद्य वस्तु मिसिएको भेटिएको थियो ।

खानेतेलमा अखाद्य वस्तु मिसाएको भेटिएपछि अनुगमन टोलीले खानेतेल उत्पादन गर्ने प्लान्ट तत्काल बन्द गर्न उद्योग प्रशासनलाई लिखित निर्देशन दिँदै कालोबजारीमा थप कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई भनेको थियो ।

अनुगमनमा संलग्न विभागका अधिकृत मोहन पुडासैनीले उद्योगबाट उत्पादित फेमिली ब्रान्ड खानेतेलमा सरकाले तोकेको मापदण्डविपरीत अखाद्य वस्तु मिसिएको भेटिएपछि तत्काल उत्पादन प्लान्ट बन्द गरी उद्योगलाई कालोबारजीमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखेको जानकारी दिए ।