गौचनको हत्या पुनबाट भएको आशङ्का

गौचनको हत्या पुनबाट भएको आशङ्का


निर्माण व्यावसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्या फरार अपराधि मनोज पुनले गराएको हुनसक्ने आशङ्का गरिएको छ ।

प्राप्त जानकारीअनुसार भैरहवा र बुटवल क्षेत्रमा हप्ता असुली तथा विभिन्न हत्या काण्डमा संलग्न पुन प्रहरीको मस्टवाण्टेड सूचिमा रहेको र लामो समयदेखि भारतमा बस्दै आएको थियो ।

केही समयअघि नेपाल प्रहरीको सीआइवीको विशेष टोलिले मनोजलाई भारतमै पक्राउ गर्न विशेष प्रयास गरेको थियो ।

त्यस क्रममा दबाब महशुस गरेपछि पुनले आफूलाई भारतमा दुःख दिए प्रहरीलाई नेपालमै दुःख दिने भनी चेतावनी दिएको बताइन्छ ।
गौचनलाई उसैले ‘शार्प सुटर’ मार्फत हत्या गराएको आशङ्का प्रहरीले गरेको छ ।

यसैवीच नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

काठमाडौंको मुख्य क्षेत्रमै दिनदहाडै गोली प्राहर गरेर हत्या भएको भन्दै महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने घोषणा गरेको हो ।

महासंघका महासचिव रामशरण देउजाले यो घटनाबाट देशभरका निर्माण व्यवसायीमा त्रासको वातावरण सिर्जना भएको बताए ।