सिंहदरबार : ढोकाबाट प्रवेश पाउन झञ्झट, ‘अन्तरकुन्तर’ बाट छिर्न सजिलो !

सिंहदरबार : ढोकाबाट प्रवेश पाउन झञ्झट, ‘अन्तरकुन्तर’ बाट छिर्न सजिलो !


  • विजय दमासे

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार…, जनतामाथि जनप्रतिनिधिले जहाँबाट शासन गर्छन्, अर्थात् जहााबाट सिङ्गै नेपाल चलेको छ । आफैले चुनेर नीति निर्माण गर्ने तहमा पठाएका प्रतिनिधिलाई भेट्न आमजनताले निकै कष्ट ब्यहोर्नुपर्ने ठाउँ पनि हो सिंहदरबार ।

छिचोलेरै भन्नुपर्दा सर्वसाधारणका लागि सिंहदरबार पस्ने काम सगरमाथा चढ्नुसरह नै हो । कामविशेषले सिंहदरबारमा जनुपरे आमनागरिकले तोकिएको समयमा नागरिकता प्रमाणपत्र पेश गर्नेलगायत सुरक्षा जाँचसम्बन्धी अनेकौँ प्रक्रिया पूरा गर्नुुपर्ने हुन्छ ।

सिंहदरबारभित्र हुन सक्ने ‘सुरक्षा थ्रेट’को विषयमा बेलाबेलामा गृहमन्त्रालयमा सुरक्षा अधिकारीबीच गम्भीर छलफल चल्ने गरेको बताइन्छ । र, देखावटी रूपमा त सिंहदरबारको सुरक्षामा उनीहरूले विशेष ध्यान पनि पु¥याउने गरेका छन् ।

सिंहदरबारको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरी निरन्तर खटिए पनि भौतिक संरचनाको पुनर्निर्माणमा ढिलाइ हुँदा त्यहाँको सुरक्षामा चुनौती पैदा भएको चाहिँ देख्नुपर्नेहरूले देखेका छैनन् ।

सिंहदरबारको मूल ढोकासँगै महान्यायाधिवक्ताको कार्यालय छ । सोही कार्यालयको भवन निर्माणका निम्ति भत्काइएको सिंहदरबारको पर्खाल समयमै पुनर्निर्माण हुन नसक्दा सुरक्षामा चुनौती थपिदिएको हो । भत्काइएको सो पर्खाल पुनर्निर्माणका निम्ति सिंहदरबारमा रहेको पुनर्निर्माण विभागलाई केही दिनअघि सुरक्षाअधिकारीको बैठकले ताकेता गरेको भए पनि निर्माणको काम अझै शुरु हुन सकेको छैन ।

सो पर्खाल हुँदै सिंहदरबार छिर्न जो कोही पनि सक्ने हुँदा तत्काल निर्माणका निम्ति पुनर्निर्माण विभागलाई सुरक्षा अधिकारीको बैठकले भने तापनि काम शुरु नहुनु दुःखद रहेको महानगरीय प्रहरी वृत्त सिंहरबारका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

सो बाटो हुँदै मानिस प्रवेश गर्ने गरेको सम्बन्धमा उनले भने, ‘सेनाले त्यहाँको सुरक्षा गर्नुपर्ने हो, के रहेछ म तत्काल बुझ्छु ।’ उनले सुरक्षाको विषयमा आफूहरू सजग रहेको दाबी गर्दै भत्काइएको सो पर्खालको तत्काल पुनर्निर्माण गर्न सिंहदरबारभित्र रहेको पुनर्निर्माण विभागले चासो देखाउनुपर्ने बताए ।
यसरी सिंहदरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई कडाइ गरिए पनि समयमै भत्किएको पर्खाल निर्माणमा शासन–सत्ता चलाउनेहरुले चासो नदेखाउनु दुःखद मानिएको छ । सिंहदरबार बसेर देश बनाउने ‘गफ’ दिनेहरूले आफैलाई सुरक्षित राख्ने पर्खालसमेत निर्माण गर्न नसक्दा उनीहरूको योग्यता, क्षमता र सम्वेदनशीलताप्रति प्रश्न उठेको छ ।

तस्बिरसहित… 

तस्बिर: प्रविण श्रेष्ठ/घटना र विचार