काङ्ग्रेस संसदले मागे गृहमन्त्रीको राजीनामा

काङ्ग्रेस संसदले मागे गृहमन्त्रीको राजीनामा


सांसदहरुले गृहमन्त्री जनार्दन शर्माको चर्को आलोचना गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौतमको हत्यालाई लिएर सत्तारुढ दलका सांसदहरुले नै गृहमन्त्री शर्माको चर्को आलोचन गर्दै राजीनामा मागेका हुन् ।

मंगलबार बसेको संसद बैठकमा बोल्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले गौचनको हत्यापछि अरु निर्माण व्यवसायीलाई पनि मार्ने धम्की आउँदा गृहमन्त्री सुतिरहेको आरोप लगाउनुभयो ।

‘अध्यक्ष गौचनको हत्या भइसकेको छ, त्यसपछि अन्य निर्माण व्यवसायीलाई पनि करोडौ रकम माग्दै हत्याको धम्की आइरहेको छ’, खतिवडाले आक्रोशित हुँदै भन्नुभयो, ‘यस्तो बेला गृहमन्त्री संसदमा पनि नआएर कहाँ गएका छन ? शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’

देशको राजधानीमै निर्माण व्यवसायीका अध्यक्षको हत्या भएको अवस्थामा गृहमन्त्री चुप लागेर बस्न नहुने खतिवडाको भनाइ थियो ।

‘निर्माण व्यवसायीका अध्यक्षको देशको मुटुमै हत्या हुन्छ भने संघीय, प्रदेशको निर्वाचन यो गृहमन्त्रीबाट सम्भव छैन’, खतिवडाले भन्नुभयो, ‘गृहमन्त्रीले कानमा तेल हालेर मन्त्रालयमा बस्ने बेला होइन यो, हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

सांसद खतिवडाले देश निर्माण गर्न निर्माण व्यवसायीले खेलेको भूमिकाको सम्मान गर्नुपर्ने बताउँदै लागनीको वातावरण अन्त्य हुन नदिन सरकार सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका अर्का सांसद रोमी गौचन थकालीले संसद भवनको तीन सय मिटरको पूर्वमा निजी क्षेत्रका महत्वपूर्ण व्यक्तिको हत्या चानचुने विषय नभएको बताउनुभयो ।

‘संसद भवनकै केही सय मिटरको दुरीमा भएको यो हत्याले सुरक्षानिकायमाथि गम्भीर प्रश्न उठाएको छ’, गौचनले भन्नुभयो, ‘हाम्रो सुरक्षानिकायको संयन्त्र पर्याप्त सूचना राख्दैनन् भन्ने यसले पुष्टि गरेको छ । अर्कातियर यो सुरक्षाअधिकारी पनि छैनन् भन्ने यसले देखाएको छ ।’

अर्का सांसद विश्वेन्द्र पासवानले व्यवसायीको जीवनको रक्षमा सरकार सचेत हुनुपर्ने बताउनुभयो । ‘जनताले मतदान गर्न नदिने अवस्था ल्याउन यो हत्या प्रकरण भएको हो’, पासवानले भन्नुभयो, ‘कात्तिक ४ गतेपछि संसद नरहने अवस्था आउँदैछ । देशमा राजनीतिक रिक्तता ल्याएर अस्थिरता ल्याउन खोजिँदैछ ।’