जोरखाने स्टेडियम बनाउन इरानका पूर्वउपराष्ट्रपति मोहसेनको हस्ताक्षर

जोरखाने स्टेडियम बनाउन इरानका पूर्वउपराष्ट्रपति मोहसेनको हस्ताक्षर


नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कुल लागतको ७५ प्रतिशत महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था मिलाउने गरी सम्झौता भएको अध्यक्ष मानन्धरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

त्यसैगरी, अध्यक्ष मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जग्गा सम्बन्धमा सम्झौता पत्रमा पनि हस्ताक्षर गरे । कीर्तिपुर नगरपालिका वडा नम्बर १० मा संघलाई नगरपालिकाकाले १८ देखि २० रोपनी जग्गा स्टेडियम निर्माणका लागि उपलब्ध गराउने मेयर महर्जनले बताए । अध्यक्ष मानन्धरले चाँडै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण कार्य थाल्ने बताउदै ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

महासंघका अध्यक्ष एवं पूर्व उपराष्ट्रपति मोहसेनले नेपाली जोरखानेका लागि ठूलो अवसर भएको बताउदै जोरखाने संघलाई निर्माण कार्यमा सक्रिय हुन आग्रह गरे ।  जोरखाने संघका महासचिव रवि घिमिरे स्टेडियम हातामा जोरखाने स्टेडियमसहित बहुउद्देश्यीय कभर्डहल, स्विमिङ पुल, आवास गृह, रेस्टुरेन्ट र जिम्नेजियम रहने जानकारी गराए । घिमिरेले सानो आकारमा ओलम्पिक एकेडेमीको अवधाराणामा स्टेडियम निर्माण गर्न लागिएको बताए ।

दक्षिण एसियाली जोरखाने सुरु

सोही कार्यक्रममा प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता आज असोज २७ गतेदेखि सुरु भएको छ । नेपाल जोरखाने खेलकुद संघले आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी रहेको छ ।

जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । भारतका खेलाडी आज बेलुकी आइपुग्ने तथा भुटान, माल्दिभ्स र अफगानिस्तानका खेलाडी शुक्रबार बिहानसम्म आइपुग्ने बताइएको छ ।

नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।