दार्जिलिङमा फेरि फेरि हिंसा भड्कियो, प्रहरी अधिकारीसहित दुईको मृत्यु

दार्जिलिङमा फेरि फेरि हिंसा भड्कियो, प्रहरी अधिकारीसहित दुईको मृत्यु


भारतको पश्चिम वङ्गगाल राज्य स्थित दार्जिलिङमा फेरि फेरि हिंसा भड्किएको छ ।  प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई पक्रिन खोज्दा दार्जिलिङमा फेरि हिंसा भड्किएको हो । झण्डै साढे तीन महिना लामो अनिश्चितकालीन हड्ताल अन्त्य भएको १६ दिनपछि प्रहरीले नेता विमल गुरुङलाई समात्न छापा मार्ने क्रममा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

शुक्रबार भएको झडपमा एक प्रहरी अधिकृत र एक मोर्चा कार्यकर्ताको मृत्यु भएको छ । मृत्यु हुने प्रहरीको नाम अमिताभ मलिक रहेको बताइएको छ। झडपमा अन्य मोर्चा कार्यकर्ता पनि मारिएको आशंका गरिएको छ । शुक्रबार बिहान ५ बजे प्रहरीले लाप्चे बस्तीमा छापा मार्न सुरु गरेको थियो ।

प्रहरीले खोज्न थालेपछि विमल गुरुङ भूमिगत अवस्थामा छन्। उनले विनय तामाङ र अनित थापालाई ‘गद्दार’ को संज्ञा दिएका छन् । बिहीबार राती विमल गुरुङले आउँदो ३० अक्टोबरमा आफू दार्जिलिङ पहाडमा सार्वजनिक हुने बताएका छन् । ‘म मर्नै परे जनताको अगाडि आएर मर्छु,’ विमलले भनेका छन् ।

पछिल्लो झडपपछि दार्जिलिङमा झनै संकट चुलिने आशंका गरिएको छ । अलग राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोजमुमोमा पनि पछिल्लो समय संकट पैदा भएको छ । पछिल्लो पटक आन्दोलनकारी शक्तिबीचमै फूट देखिएपछि गोर्खाल्याण्डको माग कमजोर बनेको छ ।

अलग गोर्खाल्याण्ड राज्यको माग लिएर गत केही महिनामा भएका आन्दोलनहरुमा १३ जनाको ज्यान गइसकेको छ ।पार्टीबाट निकालिएका विनय तामाङ र अनित थापालाई पश्चिम बंगाल राज्य सरकारले जिटिएको प्रमुख र उपप्रमुखमा नियुक्त गरेको छ भने विमल गुरुङलाई मुद्दा लगाएको छ ।

समाचार एजेन्सीको सहयोगमा