माओवादीलाई हटाएपछि विभाग तोक्ने गरी थपिए आठ मन्त्री

माओवादीलाई हटाएपछि विभाग तोक्ने गरी थपिए आठ मन्त्री


आगामी निर्वाचन र वर्तमान सरकारको भविष्यबारे विभिन्न कोणबाट क्रिया–प्रतिक्रिया चलिरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका छन् । सरकार टिकाउन नयाँ जोडघटाउ चलिरहेको बेला प्रधानमन्त्री देउवाले व्यवस्थापिका संसदमा १९ सदस्य रहेको राप्रपालाई सरकारमा सामेल गरेका हुन् । बाम–गठबन्धन प्रकरणपछि अत्यन्त तरल बन्न पुगेको राजनीतिक माहोलबीच शुक्रबार साँझ देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी तोक्दै सो पार्टीका आठजनालाई मन्त्री मण्डलमा सामेल गरेका छन् ।

उपप्रधानमन्त्री थापासहित चार जनालाई मन्त्री र अन्य चारलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । राप्रपाबाट मन्त्रीको जिम्मेवारी पाउनेमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापा रहेका छन् भने कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेठ र कान्ता भट्टराईलाई राज्यमन्त्री बनाइएको छ । आज थप गरिएका मन्त्रीहरूको विभाग भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरूको सपथ कार्यक्रम पनि भोली शनिबार हुने बुझिएको छ ।

बालुवाटार सुत्रका अनुसार गठबन्धन सरकारको प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र)लाई सरकारबाट हटाइने योजनाका साथ प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । माओवादी आफै सरकार छोडेर जाने आँकलन समेत देउवाका सल्लाहकारहरूले गरेका छन् । नभए माओवादी मन्त्रीहरूलाई प्रधानमन्त्रीले नै हटाउने रणनीतिका साथ काम गरिएको बताइन्छ ।

माओवादीले सरकार छोडेपछि या हटाइएपछि मात्रै नयाँ मन्त्रीहरूको विभाग तोकिने बुझिएको छ ।