एक्काइसौ शताब्दिसम्म दासप्रथाको अस्तित्व

एक्काइसौ शताब्दिसम्म दासप्रथाको अस्तित्व


लण्डन । मउलखियर मिन्त यर्बा सहारा मरुभूमि क्षेत्रको पश्चिमी भूभागमा पर्ने धुलम्मे वातावरणमा आफ्नो मालिकको बाख्राहरु चराएर र्फकंदा उन्ले कल्पना नै नगरेको दारुण दृष्य ढोकामा पुग्दा देख्छिन् । मुश्किलले बामे सर्न थालेकी उनको कलिलो छोरी ढोकैमा मरेकी उनले देख्छिन् । सधै शिथिल र असहाय रहने यर्बा दशकौंसम्म दासताको जाँतोमा पिसिएर अस्थि पञ्जिर बनेका उनको दाबिलो जस्तो हात उठाउँदै निख्खर कालो आँखाबाट खसेका आँसुको भेल पुछ्छिन् र छोरीलाई सुम्सुम्याउँछिन् । पश्चिम अफ्रिकी राष्ट्र मारितेनियाको यो कहाली-लाग्दो दास परम्पराको जञ्जिरमा बाँधिएकी यर्बा जस्ता हजारौ दुःखीहरुका प्रत्येक दिनको पीडालाई सभ्य संसारले हेरिरहेको छ र अझसम्म पूर्णतया यो दासप्रथा उन्मुलन नभएको ठहर गर्दछ । यर्बाकी मृतक छोरी ढोकैमा आँखा खुला अवस्थामा मृत्यु भएकी रहिछिन् र उनको अनुहारभरि कमिलाहरु दौडिरहेको देख्दा यर्बाको मन छिया-छिया हुन्छ । उनको मालिकले उनलाई बच्चा जन्माएर सजाय दिने मन्सायले उनलाई बलात्कार गरेका थिए । उनलाई बच्चा जन्मेपछि बच्चा पिँठ्यूमा बोक्न नदिई छिटो काम गर्ने आदेश दिएका थिए । मालिकको उत्पिडन, यात्ना र बच्चालाई स्याहर सुसार नपाएर बच्चा मरेर गईन् । बच्चालाई राम्रोसंग दफ्नाउनकालागि मालिकसंग केही समय माग्नलाई बिन्ति बिसाएकी थिईन्, तर, मालिकले उपहास गर्दै…काममा छिटो जा..उसको आत्मामा कुकुरको आत्मा छ … भनेर दूत्कारेका थिए । उनि साह्रै दुःखी भएर दिनको अन्तमा एउटा पुरानो चिहान खनेर कपडासंगै ननुहाइकन, कुनै संस्कारबिना त्यस बच्चालाई उनले गाडेकी थिईन् । यो घट्ना गत डिसेम्बर महिनामा घटेको थियो । मानव अधिकारवादीहरुले यस राष्ट्रबाट दासहरुलाई उन्मुलन गर्ने अभियानमा लागेको बखत यर्बाले उनीहरुलाई आफुमाथि घटेको कुरा बताएकी थिईन् । उनले दुःख सम्झदै,… म आफ्नो आँसु झार्दै आफैलाई भुलाउँने प्रयास गरे, त्यतिबेला छोरीलाई सम्झँदै बेस्सरी रोएँ, उनीहरुले मेरो पीडा बुझेनन् उल्टै मलाई चुप लागेर बस्ने धम्की दिए यदि चुप लागेर नबसे मेरो एकदमै हालत खराब गरि दिने त्रास देखाएका थिए… भनेर उनले भनिन् । सन् १९८१ सालमा यस पृथ्वीमा अन्तिम राष्ट्रको रुपमा पश्चिमी सहारा मरुभूमिस्थित यस राष्ट्रले दासप्रथा खारेज गरेको थियो । तर, पनि वास्तविक रुपमा दासप्रथा पूर्णतया उन्मूलन नभएको तीतो यथार्थ माथिको घटनाबाट थाहा हुन आएको छ । गतवर्ष डिसेम्बर महिनामा एक जना सीएनएनका संवाददातालाई पीडित मउलखिउर मिन्त यर्बाले माथि सम्प्रेषित कुराहरु बताएकी थिईन् । उनले उनको कथासहित अन्य दासहरुका भीडीयो बृत्तचित्र बनाएर सञ्चार माध्यमबाट सम्प्रेषन गरिसकेका छन् ।
हाल पृथ्वीको कुनै राष्ट्रमा प्रत्यक्ष यो प्रथा नरहे तापनि सहाराको पश्चिमी किनारामा अवस्थित सुक्खा ठूलो क्षेत्र ओगटेको राष्ट्रमा यस प्रथालाई सजिलै साधरण कुरा सम्झेर अङ्गीकार गर्दै आएका छन् । नेपालमा चन्द्र शम्सेरको पालामा दासप्रथा खारेज गरेको थियो । मारितेनियाका चौतीस लाख जनतामध्ये दसदेखि बीस प्रतिशतसम्म अझ पनि मानव दासहरु छन् भन्ने कुरा राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । अब्राहम लिङ्कनले झण्डै डेढसय वर्षपहिले अमेरिकाका दासहरुलाई कानून बनाएर मुक्ति दिलाएका थिए । कानूनी रुपमा नेपालामा पनि दासप्रथा छैन तर दासप्रथाको अर्को स्वरुप मानिसहरुलाई शोषण गरेर दासको जीवन जस्तै गुजार्न बाध्य हुने कमैयाहरु अझ पनि नेपालमा छन् । हालसालै उनीहरुलाई मुक्त कमैयाको रुपमा मुक्त गरेका छन् तर तिनीहरु अझ पनि त्यो जञ्जिरबाट पूर्णतया मुक्त छैनन् । मारितेनियामा सन् २००७ सालमा एक जनालाई मात्र दास बनाएर राखेको अभियोगमा मुद्धा चलाएर सजाए दिएको उल्लेख छ । तर, यथार्थमा अहिले पनि दासको प्रथा रहेको मा पृथ्वीवासीहरुले आश्चार्य मानेका छन् । यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुका अनुहार र छालाको रङ्ग हेरेर त्यहाँका मानिसहरुले कुनचाँहि दास हुन् कुन् होइनन् भन्ने कुरा ठिम्याउँछन् । श्रोत – सीएनएन, सुमल, मेस ।