अन्ततः हुने भयो नवनियुक्त मन्त्रीहरुको सपथ

अन्ततः हुने भयो नवनियुक्त मन्त्रीहरुको सपथ


निकै चर्चामा पुगेको विस्तारित मन्त्रीहरुको सपथ आज शनिबार साँझ हुने भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने भएको हो । निर्वाचन आयुक्तहरुसँग राष्ट्रपति विद्या भण्डारीले परामर्श गरेलगत्तै सपथको समय ७ बजेका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए ।

राप्रपाका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रीमा नियुक्त गरेपछि यो कार्यको सर्बत्र बिरोध समेत भएको थियो ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णयमा पुगेको छ । प्रचण्ड निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसदको निर्वाचन गराउने तथा संविधान कार्यान्वयन गराउने दायित्वका साथ सरकार गठन भएको ठहर गर्दै सो कार्यभारबाट विमुख हुन नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले राष्ट्रिय दायित्वबाट पार्टी पछाडि हट्न नहुने बताउँदै निर्वाचनको संघारमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिताविपरीत भएको प्रतिक्रिया दिइन् ।

नेकपा (एमाले)सँग वाम गठबन्धन गर्ने निर्णयपछि नेपाली कांग्रेसले माओवादीले नैतिकताका आधारमा सरकार छाडिदिनुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकार विस्तार गरेपछि माओवादी केन्द्र सरकारमा रहने कि नरहनेमा भन्नेमा दुविधा देखिँदै आएको अवस्थामा सो पार्टीको यस्तो धारणा आएको हो । माओवादी केन्द्रको संसदीय दलको बैठक आजै बस्ने भएको छ ।