संसदको अन्तिम बैठक बस्दै

संसदको अन्तिम बैठक बस्दै


संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको अन्तिम बैठक आज बस्दैछ । संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद सचिवालयलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद परिसरमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसदको अवधि सकिन लागेको हो ।

विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरित भएको हो ।

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ ।

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद कायम रहने प्रावधान उल्लेख छ ।