ज्यादती सहन नसकेपछि राष्ट्रिय तेक्वान्दो प्रवेश गर्नेको धुइरो

ज्यादती सहन नसकेपछि राष्ट्रिय तेक्वान्दो प्रवेश गर्नेको धुइरो



– श्रीविक्रम भण्डारी

नेपाल तेक्वान्दो संघमा महासचिव दीपराज गुरुङले तानशाही चलाएपछि तेक्वान्दो संघ छोडेर राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गर्नेहरुको धुइरो लागेको छ । गुरुङले तेक्वान्दोका खेलाडी, पदाधिकारी र प्रशिक्षकलाई आफ्नो इसारामा नचाउन खोज्दा यस्तो स्थितिको सृजना भएको हो । त्यसैले अहिले काठमाडौं, ललितपुर र भक्तपुरका गरि विभिन्न तेक्वान्दो डोजाङबाट १ हजार ३ सय खेलाडी राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका छन् । यसलाई राष्ट्रिय तेक्वान्दो संघका प्रवेश गर्ने पदाधिकारी र खेलाडीहरुले गुरुङको तानाशाहीविरुद्धको कदम भएको बताएका छन् ।

गुरुङ चार दशकदेखि नेपाल तेक्वान्दो संघमा एकछत्र राज गर्दै तानाशाहीको भूमिका निर्वाह गर्दै आएका छन् । खेलाडी, पदाधिकारी होस या पदाधिकारी सबैले गुरुङले नजरले तेक्वान्दोलाई हेर्नुपर्ने पर्छ । पछिल्लो समयमा गुरुङको यो हरकतको व्यापक विरोध भएको थियो । गुरुङको यस्तो तानाशाही प्रवतिको विरोध गर्दै तत्कालिन तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले विभिन्न आरोप लगाउँदै राखेपमा गुरुङको उजुरी दर्ता गरेका थिए । जस्को अहिले पनि छानविन चलिरहेको छ ।

दीपराजले तेक्वान्दोको विधानलाई धोति लगाउँदै खुद आफ्नो नियम र कानुन बनाएका छन । जस्मा बन्द आँखाले आफुलाई समर्थन गर्नुपर्ने, आफ्नो आँखाले मात्र तेक्वान्दोलाई हेर्नुपर्ने, तेक्वान्दोको विकास भन्दा आफ्नो चाकरी, चाप्लुसी र दलाली गर्नुपर्ने लगायतका प्रमुखरुपमा रहेका छन । उनको यो कानुन तेक्वान्दो विधानसंग कुनै सरोकार राख्दैन । र पनि, तेक्वान्दोमा यहि कानुनको सवैले पालना गरिरहेका छन । दीपराजको यहि कानुनका अघि सवै खेलाडी, पदाधिकारी र प्रशिक्षक भेडाबाख्राको रुपमा प्रस्तुत हुँदै आएका छन । बर्तमान अवस्थामासमेत गुरुङको विरुद्धमा कसैले मुख खोल्ने आँट र शाहस गरेको छैन ।

तेक्वान्दोमा दीपराजको तानाशाही बढ्दै गएपछि राष्ट्रिय तेक्वान्दो संघको जन्म भएको हो । जुन राष्ट्रिय खेलकुद परिषदमा बैधानिक रुपमा दर्ता छ । यो संस्थाको उद्देश्य समग्र तेक्वान्दो खेलको विकास र विस्तार हो । जस्लाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा तेक्वान्दोको गतिविधि संचालन गर्न राखेप र तेक्वान्दो सर्वोच्च अन्तराष्ट्रिय निकाय कुकिवानले पनि मान्यता प्रदान गरेको छ । कुकिवानको नियमलाई पालन गर्दै मुलुकभित्र र वाहिर तेवान्दोका विभिन्न प्रतियोगिता संचालन र कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघले सहभागिता दिदै आएको छ ।

परिणाम, अहिले मुलुकमा दुईवटा तेक्वान्दो संघ अस्तित्वमा देखिएका छन । नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ । प्रकाशशम्सेर राणा अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघ तानाशाही तरिकाले चलेको छ । जस्लाई संघका महासचिव गुरुङले अध्यक्ष राणाको काँधमा बन्दुक राखेर आफ्नो इसारामा नचाउँदै आएका छन । त्यस्तै
शिव कोईराला अध्यक्ष रहेको राष्ट्रिय तेक्वान्दो संघ पूर्णरुपमा लोकतान्त्रिक तरिकाले चलेको छ । तेक्वान्दोका हरेक पक्षलाई समेटेर सवैलाई समान अधिकार प्रदान गर्दै आएको छ ।

पूर्व मुख्य प्रशिक्षक गुरुङ राष्ट्रिय तेक्वान्दोमा

राष्ट्रिय खेलकुद परिषद्का पूर्व तेक्वान्दोका मुख्य प्रशिक्षक एवम् हालका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका छन । गुरुङसंगै काठमाण्डौं, ललितपुर र भक्तपुरका विभिन्न तेक्वान्दो डोजाङका प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दो संघ नेपालमा आबद्ध भएका छन् । काठमाडौंबाट १२ तथा ललितपुरबाट ११ गरी विभिन्न २३ डोजाङबाट १ हजार ३ सयको संख्यामा प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दोमा प्रवेश गरेको राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

संघका अध्यक्ष शिव कोइराला र एनआरएन कोरियाका पूर्व अध्यक्ष एवं तेक्वान्दोका इन्टरनेसनल मास्टर्स राजु क्षेत्रले उनीहरुलाई टीका र माला लगाएर स्वागत गरेका थिए । अध्यक्ष कोइरालाले गुरुङ जस्तो तेक्वान्दोका सिनियर गुरु राष्ट्रिय तेक्वान्दोमा प्रवेश गर्नु संघका लागि गर्वको विषय भएको बताउदै गुरुङको प्रवेशले राष्ट्रिय तेक्वान्दो संघ अझ सशक्त हुने धारणा व्यक्त गरे । महासचिव कार्कीले राष्ट्रिय तेक्वान्दोमा प्रवेश गर्नेलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय तेक्वान्दो संघमा विधिवतरुपमा प्रबेश गरेपछि वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङले आफु अन्य खेलमा नभै तेक्वान्दोमा नै गएको प्रस्ट पारेका छन् । उनले राष्ट्रिय तेक्वान्दो संघ राखेपमा दर्ता भएको र मान्यता प्राप्त वैधानिक संघ भएको खुलासा गर्दै आफुलाई तेक्वान्दोको प्रशिक्षण दिन कसैले रोक्न नसक्ने दावी गरेका छन । कसैलाई काउन्टर दिनभन्दा पनि तेक्वान्दो खेलको विकास र विस्तारको लागि राष्ट्रिय तेक्वान्दो संघलाई उचित ठानेर प्रवेश गरेको गुरुङको धारणा थियो । जहाँवाट भएपनि उत्कृष्ट तेक्वान्दो खेलाडी जन्माउने हो, त्यो कार्यमा आफु दत्तचित्त भएर लाग्ने बताए ।