स्क्वासको सेन्टर कोर्ट निर्माणमा तीव्रता

स्क्वासको सेन्टर कोर्ट निर्माणमा तीव्रता


नेपाल स्क्वास ऱ्याकेट्स संघको नवौं साधारणसभाले सेन्टर कोर्ट निर्माण कार्यलाई तीव्र रुपमा अगाडि बढाउने भएको छ । सातदोबाटोस्थित संघको हाता सेन्टर कोर्ट, प्रशासनिक भवनलगायत आवश्यक पूर्वधार निर्माणलाई तीव्रता दिन हालै सम्पन्न वार्षिक साधारणसभाले पहल गर्ने निर्णय गरेको हो । हाल सातदोबाटोमा ४ कोर्ट रहेका छन् ।

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गरी करिब ८ करोड लागतमा उक्त पूर्वधार निर्माण गर्न लागिएको संघका उपाध्यक्ष किरण महर्जनले जानकारी गराए ।

साधारणसभाले विधान पनि संशोधन गरेको छ । केन्द्रीय कार्यसमितिको पदावधि ४ वर्षको हुने गरी विधान संशोधन गरियो । यसअघि विधानमा केन्द्रीय कार्यसमितिको पदावधि कति हुने भन्ने उल्लेख गर्न छुटेकोले संशोधन गरिएको संघले जनाएको छ ।

त्यस्तै संघले आफ्नो रजत महोत्सवमा विभिन्न कार्यक्रम गर्न उपाध्यक्ष महर्जनलाई संयोजक पनि तोकेको छ । रजत महोत्सवका अवसरमा अर्को महिना संघले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।