आँसु झार्दै विजय गच्छदार काङ्ग्रेसमा फर्के

आँसु झार्दै विजय गच्छदार काङ्ग्रेसमा फर्के


नेपाली काङ्ग्रेसमा विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विलय भएको छ । नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काङ्ग्रेसमै गाँभिएको हो ।

गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटक–पटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काङ्ग्रेसमै विलय भएको छ ।

एक दशकपछि मुल पार्टीमा फर्किएका गच्छदारले आफूले काङ्ग्रेस छाड्नुको कारणबारे बोल्दै गर्दा आँसु नै झारेका थिए । उनी एक छिन निःशब्द बनेका थिए । यो दृश्य हेरेर उक्त समारोहमा उपस्थिति सबै नेताहरु भावुक बनेको देखिन्थ्यो ।

भावुक हुर्दै गच्छदारले पार्टी छाड्नुको कारण बारे भने,‘१० वर्ष म मधेसी जनताको आन्दोलनलाई साथ दिन गएको थिएँ, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील (कोइराला) दाजुहरु हुनुहुन्थ्यो, उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ, त्यतिबेला पनि म भावुक भएको थिएँ ।’

आफूलाई केहिले मधेसको गद्दार र कांग्रेसको पुच्छर भने पनि संविधान निर्माण र कार्यान्वयन गर्न सकेकोमा खुसी लागेको उनले बताए । गच्छदारले भने,‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’

उनले राजनीतिमा भएको ध्रुविकरणपछि आफू लोकतान्त्रिक दलको पक्षमा रहेको बताए । गच्छदारले पार्टी एकीकरणको खबरले आफ्नो पार्टीका कार्यकर्ता एवं शुभेच्छुकमा खुसीयाली छाएको समेत जिकिर गरे ।

यता, राजपा सहमहामन्त्री दीलिप धाडेवाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई काँग्रेसका महामन्त्री शेखर कोइरालाले स्वागत गरेका छन् ।