‘मानार्थ अध्यक्ष’बारे राखेपले लियो स्पष्टिकरण

‘मानार्थ अध्यक्ष’बारे राखेपले लियो स्पष्टिकरण


– श्रीविक्रम भण्डारी

नेपाल बक्सिङ संघले आफ्नो लेटरप्याडमा ‘मानार्थ अध्यक्ष’ समेत राखेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा पत्राचार गरेको जानकारी प्राप्त भएको छ । संघले विधानविपरीत कार्य गरेको पाएपछि राष्ट्रिय खेलकुद परिषदले सो बारेमा स्पष्ट पार्न गत साता बक्सिङ संघलाई पत्राचार गरेको छ ।

परिषदले ०७४ असोज २० मा बक्सिङ संघलाई लेखेको पत्रमा ‘मानार्थ अध्यक्ष’ भनी विभिन्न अवस्थामा सम्बोधन गरिएको जानकारी प्राप्त भएकोले संघको विधानमा ‘मानार्थ अध्यक्ष’को व्यवस्था भए–नभएको स्पष्ट पार्न राखेपले संघलाई निर्देशन दिएको हो । साथै संघका कामकारवाही विधानसम्मत सञ्चालन गरी स्पष्ट जानकारी दिन समेत भनेको छ ।

नेपाल बक्सिङ संघको निर्वाचनपछि संघले विष्णुगोपाल श्रेष्ठलाई आजीवन ‘मानार्थ अध्यक्ष’को संज्ञा दिएको छ । यतिले मात्रै नपुगी संघको लेटरप्याटमा मानार्थ अध्यक्षको नाम र हस्ताक्षर राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पत्राचार गर्दै आएको छ, जुन संघको विधानविपरीत छ । बक्सिङ संघको विधानमा मानार्थ अध्यक्ष राख्ने कुनै प्रावधान नै छैन ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको असक्षमताका कारणले यस्तो गैरकानुनी कार्यले निरन्तरता पाएको बक्सिङ संघका पदाधिकारीले जनाएका छन् । संघको बैठकमा यसबारेमा थुप्रै सदस्यले विरोध जनाए पनि अध्यक्ष अवालेको व्यक्तिगत हठले गर्दा विष्णुगोपाल संघमा हाबी बन्दै गएको आरोप लगाएका छन् ।

राखेपका सदस्यसचिव केसवकुमार विष्टले नेपाल बक्सिङ संघलाई मानार्थ अध्यक्षको बारेमा स्पष्ट पार्न संघ–संस्था समन्वय शाखालाई निर्देशन दिएपछि शाखाले पत्र तयार पारे पनि संघलाई पत्राचार नगरेको जानकारीमा आएको छ । शाखाका कर्मचारीहरूले विभिन्न वहाना बनाउँदै अहिलेसम्म पत्राचार नगरेको स्रोतको दाबी छ ।