आठौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने दाबी

आठौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने दाबी


सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सम्पन्नसँगै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारी मध्यपश्चिमाञ्चले पाएको सर्वविदित नै छ । सोही बेला राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय प्रतियोगिताको झण्डा मध्यपश्चिमाञ्चललाई हस्तान्तरण गरेका थिए । यसबाट निकै उत्साहित बनेका मध्यपश्चिमान्चलका पदाधिकारीहरुले तोकिएको समयमै आठौं राष्ट्रिय प्रतियोगिता गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

मध्यपश्चिमांचलको प्रतिबद्धता आफ्नो ठाउँमा भएपनि आठौं राष्ट्रिय खेलकुद पूर्वाधार अभावका कारण तोकिएको समयमा नहुने संकेत देखा परेको थियो । अर्थात विगतका राष्ट्रिय प्रतियोगिता जस्तैगरि अनिश्चितता तर्फ धकेलिन पुगेको थियो । यहि कुरालाई मध्यनजर गर्दै तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदले अग्रसरता देखाउँदा आठौंको आयोजनामा नौंलो ज्यान पलाएको छ । जस्लाई सफलताको मूर्तरुप दिन युवा तथा खेलकुद मन्त्रालयले होस्टेमा हैसे गरेको छ । मन्त्रालय र राखेपले स्वरमा स्वर मिलाएपछि मध्यपश्चिमांचलमा आठौं राष्ट्रिय प्रतियोगिता हुने प्राय निश्चित भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलका विभिन्न स्थानमा हुँदैछ । ति स्थानहरुमा बाँके, दाङ्ग, गुलरिया, बर्दिया, सुर्खेत लगायत स्थानमा प्रतियोगिता संचालन गरिने परिषद स्रोतले जनाएको छ । तर भौतिक पूर्वाद्धार मध्यपश्चिमांचलको लागि निकै चुनौंति बनेर उभिएको छ । पूर्वाधारविनाको प्रतियोगिता कल्पना समेत गर्न सकिदैन र कठिन हुन्छ । तसर्थ सातौ राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समयमानै पूर्वाधार सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेका छन । जसका लागि आवश्यक अनुमानित बजेट समयमै उपलब्ध गराउने प्रतिवद्धता समेत जाहेर गरेका छन । वजेट समयमै प्राप्त भए त्यसलाई पूर्णता प्रदान गर्न सकिने आठौं राष्ट्रिय खेलकुद सचिवालयका सचिव इन्द्र बहादुर कार्कीले जनाएका छन् ।

आठौं राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण तथा मर्मतमा ९९ करोड ५८ लाखको लागत अनुमान गरिएको छ । जस अन्तरगत २०७४÷७५ मा १३ करोड ३५ लाख विनियोजित भईसकेको छ । त्यसै अनुरुप प्रतियोगिता आयोजना हुने स्थानमा पूर्वाधार निर्माण कार्यका लागि प्राप्त बजेट सम्वन्धित क्षेत्रमा पठाई सकेको पूर्वाधार तथा निर्माण शाखाले जनाएको छ ।

जस अन्तर्गत नेपालगञ्ज पौडी पोखरीको टेन्डर भएर निर्माण सुरु भईसकेको निर्माण शाखा प्रमुख अरुण उपाध्यायले जनाएका छन् । उपाध्यायका अनुसार नेपालगञ्ज कभर्डहल मर्मत, शुटिङ्गहल निर्माण, भारोत्तोलन एकेडेमी निर्माण, लमही क्रिकेट मैदान निर्माणका लागि प्राप्त रकम क्षेत्रिय खेलकुद विकास समिति मार्फतनै निर्माणको रेखदेख गर्ने गरि प्राप्त बजेट पठाई सकेको र कामको सुरुवात भई सकेको बताए । यस्तै पूर्वाधार निर्माण तथा मर्मतका लागि माननिय मन्त्री समेतको बैठकले यसै आर्थिक बर्षमा थप रु. २३ करोड ३५ लाख सुनिश्चित गर्ने आश्वासन सरकारबाट प्राप्त भई सकेको समेत सचिव कार्कीले बताए ।

आठौंको पूर्वाधार तयारीको लागि लाग्ने थप आवश्यक ६२ करोड ८८ लाख आगामी आर्थिक बर्ष २०७५÷७६ मा प्राप्त गर्ने अनुमान गरिएको छ । समयमानै आँकलन गरिए अनुरुप अनुमानित बजेट प्राप्त भएमा आगामी बर्ष मध्यपश्चिमाञ्चलमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधार निर्माण समयमै सम्पन्न भई राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न हुनेमा राखेप विश्वस्त रहेको छ ।