यी सांसदले किन कहिल्यै प्रयोग गरेनन् ‘लोगो’ ?

यी सांसदले किन कहिल्यै प्रयोग गरेनन् ‘लोगो’ ?


संसद्को चारवर्षे कार्यकाल गत शनिबार (असोज २८ गते) मध्यरातदेखि सकियो, ६०१ जनाको जम्बो संसदमा एकजना सांसदले कहिल्यै ‘लोगो’ धारण नगरीकन बिताइदिए । संसदमा प्रवेश गर्न सांसदहरूले अनिवार्य रूपमा लोगो धारण गर्नुपर्ने र सुरक्षाकर्मीहरूले लोगो हेरेर मात्र सांसद प्रवेशद्वारबाट सांसदहरूलाई प्रवेश गर्न दिने व्यवस्था थियो । एकजनाबाहेक सबै सांसद सधैँजसो ‘लोगो’ लगाएर नै संसद् भवनमा प्रवेश गर्ने गर्दथे । तर, एकजना सांसदले भने निर्वाचित भएर संसद् भवनमा प्रवेश गरेदेखि कार्यकाल समाप्ति (२०७४ असोज २८) सम्म एकपटक पनि लोगो धारण गरेनन् र संसद् भवन प्रवेशमा उनलाई कहिल्यै कुनै अवरोध पनि भएन । सांसद भएर पनि यसरी सांसदको लोगो प्रयोग गर्न नचाहनुको कारण सांसद बनेर संसद्मा प्रवेश गरेका धेरैको स्तर तथा तिनको व्यवहार रहेको बुझिन्छ ।

सांसद सङ्ख्या ठूलो भएको, सांसद बनेका अधिकांश व्यक्तिको स्तर अत्यन्त कमजोर रहेको, सांसदको हैसियतमा देखाइने गरेको व्यवहार लज्जास्पद भएको र समग्रमा सांसद भन्न लाज मान्नुपर्ने अवस्था रहेकोले उनले सांसद–लोगोको प्रयोग नगरेको बताइन्छ । सांसद बनेर पनि सांसद भएकोमा प्रतिष्ठित नबनेको ठान्ने सांसद अरू कोही नभएर सर्लाहीबाट प्रतिद्वन्द्वीभन्दा करिब दश हजार मनान्तरले विजयी नेपाली काङ्ग्रेसका युवा नेता डा. अमरेशकुमार सिंह हुन् । डा. सिंहले आफ्नो चारवर्षे कार्यकालमा कहिल्यै सांसदको लोगो प्रयोग गरेनन् ।

सांसदको लोगो प्रयोग गर्न किन हिचकिचाएको भन्ने विषयमा जिज्ञाशा प्रकट गर्दा डा. अमरेशको भनाइ छ, ‘संसद्मा रहेका अधिकांश सदस्यमा देश र जनताप्रतिको समर्पणभाव नदेखिएको, सरकारी निकायलाई मर्यादित रहन नदिने, अपराधी, तस्कर र भूमाफियाहरूसँग साझेदारी गर्ने, संस्थागत विकास तथा संरचनागत अनुशासनमा नबस्ने, गुणस्तरीय काममा कहिल्यै रुचि नराख्ने र म्यानपावर व्यवसायमा संलग्न रहने व्यक्तिहरूले सांसदको लोगो लगाएर हिँडेको देखेपछि मैले लोगो प्रयोग नगर्ने निर्णय लिएको हुँ । सानो देशमा सांसदहरूको ठूलो हुल देखेर पनि लोगो प्रयोग गर्ने उत्साह ममा नजागेको हो ।’