बक्सिङको इतिहास दोहोऱ्याउने अवालेको उद्घोष

बक्सिङको इतिहास दोहोऱ्याउने अवालेको उद्घोष


– श्रीविक्रम भण्डारी

दक्षिण एसियाका आठवटै देशमा बक्सिङको स्तरलाई अभिवृद्धि गर्ने सोचअनुरूप दक्षिण एसियाली बक्सिङ सङ्घ (साबा) को गठन भएको हो । सोही सोचलाई पूर्णता दिन हालै आठवटै देशका बक्सिङका पदाधिकारीको बैठक भारतको दिल्लीमा बसेको थियो । उक्त बैठकमा नेपालको तर्फबाट नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठ र उपाध्यक्ष किरण श्रेष्ठले सहभागिता जनाएका थिए । साबाको गठन १२औँ सागको आयोजनाको क्रममा भारतको गुवाहाटीमा भएको थियो ।

दक्षिण एसियाली खेलकुदमा बक्सिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको खेलकुदको इतिहासको पाना पल्टाउँदा प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । दलबहादुर रानामगर, पुष्करध्वज शाही, चित्रबहादुर गुरुङ, प्रकाश थापामगर, रामचन्द्र थापामगरले जितेको स्वर्ण पदक यसका उदारहण हुन् । त्यस्तै पुष्करध्वज शाही, रामबहादुर गिरी, चित्रबहादुर गुरुङ, उमेश मास्के, राम अवाले, विजय देउवा, विष्णुबहादुर सिंह, सुरेश मल्ल, दलबहादुर रानामगर, गणेशबहादुर भट्टराई कृष्णमान श्रेष्ठ, प्रकाश थापामगर, निमा तामाङ उमेश कटुवाल, विष्णुप्रसाद रिजाल, सुशील घिमिरे र अजित गुरुङले रजत पदक जितेर नेपाल बक्सिङको उर्वरभूमि भएको प्रमाणित गरेका थिए ।

नेपाली खेलाडीले आफ्नो विजय–यात्रालाई दक्षिण एसियाली खेलकुदमा मात्र सीमित नराखी एसियाली खेलकुदमा समेत सफलताको झन्डा गाड्न सफल भएका थिए । एसियाली खेलकुदमा दलबहादुर रानामगर, उमेश मास्के र दीपक महर्जनलगायतले कांस्य पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपाललाई बक्सिङको देश भनेर चिनाउन सफल भएका थिए । यही सत्यतालाई आत्मसात् गर्दै हालै दिल्लीमा सम्पन्न साबाको बैठकले नेपाललाई दक्षिण एसियाको बक्सिङ खेलको स्तरलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अहम् जिम्मेवारी सुम्पिएको छ । साबाले सङ्घका अध्यक्ष अवालेलाई उपाध्यक्षमा निर्विरोध चयन गरेको थियो । त्यस्तै, बक्सिङ खेलको समग्र विकासमा महत्वपूर्ण योगदान दिएबापत सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई महासचिवको जिम्मेवारी सुम्पिएको थियो । श्रेष्ठलाई साबाका प्रतिनिधिहरूको विशेष अनुरोधमा महासचिवमा निर्विरोध निर्वाचित गरिएको हो । त्यस्तै, सङ्घका केद्रीय सदस्य किरण श्रेष्ठ पनि साबाको सदस्यमा निर्विरोध निर्वाचित हुन सफल भएका थिए ।

साबाले श्रेष्ठलाई महासचिवमा निर्विरोध चयन गरेपछि उनको प्रतिक्रिया यस्तो थियो– जुन विश्वासले मलाई महासचिव बन्नका लागि अनुरोध गरे त्यसलाई म मेरो भाषामा भन्नुपर्दा ‘मौका’ दिएको भन्छु । म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढी अनुभव हासिल गरेको व्यक्ति भएकाले मलाई यो मौका प्रदान गरिएको हो । म बक्सिङ सङ्घको संस्थापक अध्यक्ष हुँ, मैले दुई कार्यकाल बक्सिङ सङ्घको अध्यक्ष भएर चलाइसकेको छु । म त्यस्तो व्यक्ति हुँ, जसले एकै वर्षमा बक्सिङका १४ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता गरेर कीर्तिमानसमेत बनाएको छु । त्यस्तै, म अन्तर्राष्ट्रिय बक्सिङ कमिसनको दुईपटक इलेक्सन कमिस्नरसमेत बनिसकेको छु । यसकारण साबाले मलाई विश्वास गरेको हो ।

साबाले महासचिव बनाएपछि आफ्नो जिम्मेवारीमा खरो उत्रिने दाबी गर्ने श्रेष्ठले सर्वप्रथम दक्षिण एसियामा बक्सिङको स्तर उकास्न वार्षिक क्यालेन्डर बनाउने र सोहीअनुरूप अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसमा प्रतियोगिताको आयोजना, रेफ्री जजलाई प्राथमिकता, अन्तर्राष्ट्रियस्तरको कोच क्षमतामा वृद्धि, नतिजा, स्तरीय खेलाडी र दक्षिण एसियामा आपसी भाइचाराको सम्बन्धमा वृद्धि प्रमुख रहने बताए । साथै श्रेष्ठले कुनै पनि व्यक्ति विज्ञ अथवा अनुभवी हुन्छ भने त्यसमा व्यक्तिगत र राष्ट्रको अर्थको हात हुन्छ । त्यसैले जीवनकाल हुँदै आफूमा भएका ती गुण, क्षमता र अनुभव अरूलाई हस्तान्तरण गरेर जानुपर्छ । त्यो गरेको खण्डको मात्र मानवीय धर्म पूरा गरेको ठानिन्छ ।

त्यस्तै, साबाको उपाध्यक्षको जिम्मेवारी पाएका राम अवालेले आफ्नो प्रमुख प्राथमिकता नै दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक जिताउने रहेको बताए । नेपालले आठौँ साफदेखि स्वर्ण पदक जित्न नसकेको स्मरण गराउँदै स्वर्ण पदक जित्नका लागि प्रयत्नशील रहने बताए । त्यस्तै, साबाले दिएको नयाँ जिम्मेवारीले आफू उत्साहित भएको बताउँदै त्यसमा खरो उत्रिन नेपालमा मात्र नभई दक्षिण एसियामा बक्सिङका लागि उत्कृष्ट कार्य गर्ने अवालेले बताए । साथै खेलाडीको हकहित र खेलको स्तरीयताका लागि आफूले अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरेर अगाडि बढ्ने दाबी गरे । अर्को, अवालेले जस्तोसुकै दाबी गरे पनि बक्सिङ सङ्घ जसरी चल्नुपर्ने हो त्यसरी नचलेको सङ्घका पदाधिकारीले आरोप लगाएका छन् । अध्यक्ष भएर पनि अवालेले अध्यक्षको भूमिका निर्वाह गर्न नसकेको बेलाबेला उनको बारेमा हुने गरेका टीकाटिप्पणीले पनि यसलाई प्रमाणित गरेको छ । अझ बक्सिङ सङ्घको विधानमै नभएको कुरालाई उनले व्यवहारमा प्रयोग गर्दा उनको निकै आलोचना भएको छ । अवालेको यही अक्षमताका कारण हालै राष्ट्रिय खेलकुद परिषद्ले उनलाई स्पष्टीकरणसमेत सोधेको थाहा भएको छ । अब बक्सिङ सङ्घलाई विवादरहित तरिकाले चलाउन उनले कस्तो जवाफ दिन्छन् त्यो निकै महत्वपूर्ण बनेको छ ।

स्मरणीय रहोस्, गुवाहाटी र सिलोनमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजनाका क्रममा साबाको गठन भएको थियो । उक्त समितिमा तत्कालीन बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध उपाध्यक्षमा चुनिएका थिए । त्यस्तै, बक्सिङका प्रशिक्षक प्रचण्ड शर्मा सदस्यमा छानिएका थिए । साबाको उद्देश्य दक्षिण एसियाली मुलुकमा बक्सिङ खेलको विकास र विस्तारभन्दा पनि स्तरीयतालाई विशेष जोड दिएर गठन भएको थियो । तर, साबाको गठन भएको अहिले डेढ वर्षभन्दा बढी भइसक्दा पनि यो सङ्घले सोचेअनुरूपको कार्य गर्न सकेको छैन । परिणाम, दक्षिण एसियामा बक्सिङको स्तरमा कुनै वृद्धि हुन सकेको छैन ।

अर्को कुरा, साबालाई अहिलेसम्म अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा)ले मान्यता दिएको छैन । आइवालाई साबाको गठनबारे सम्बन्धित निकायले पत्राचार गरे पनि अहिलेसम्म किन मान्यता दिएको छैन त्यो थाहा हुन सकेको छैन । प्राप्त जानकारीअनुसार अहिले पनि आइवाले साबाको गठन सम्बन्धमा अध्ययन गरिरहेको बुझिएको छ । तसर्थ आइवाको मान्यताबिना अहिले पनि साबा लङ्गडोजस्तै देखिएको छ । आइवाको मान्यता र सहयोगबिना साबाको कदम अर्थहीन हुने भएकाले सर्वप्रथम साबाले आइवाको मान्यता लिनुपर्ने जरुरी देखिएको छ । यसका लागि साबाले भविष्यमा कस्तो कदम चाल्छ त्यो प्रतीक्षाको विषय बनेको छ ।

अवालेको बक्सिङ सङ्घलाई राखेपको मान्यता
लामो समयको रस्साकस्सीपछि अवाले अध्यक्ष रहेको नेपाल बक्सिङ सङ्घलाई राष्ट्रिय खेलकुद परिषद् गत साता मान्यता दिएको छ । लोकतान्त्रिक तरिकाले निर्वाचन सम्पन्न हुँदासमेत राखेपले निर्वाचित बक्सिङ सङ्घलाई मान्यता दिएको थिएन् । राखेपले किन मान्यता दिएन त्यसको कारण पनि खुलाएको थिएन । तर, काम गर्नमा भने अवालेको सङ्घलाई राखेपले अवरोध गरेको थिएन । बक्सिङ सङ्घको हैसियतले काम गर्न दिने, तर मान्यता नदिएका कारण बक्सिङको वैधानिक मान्यतामाथि प्रश्न उठेको थियो । त्यसपछि अध्यक्ष अवालेले परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, सर्वोच्चले अवैधानिक घोषणा गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको गर्नुसम्म चाकरी गर्नुपरेको थियो । अहिले बक्सिङ सङ्घलाई कसरी राखेपले मान्यता दियो रहस्यको विषय बनेको छ ।