नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच रहेको वाम गठ्बन्धनमा बैचारिक विवाद सुरु भएको छ । निर्वाचन घोषणा पत्रको तयारी गरिरहेका एमाले र माओवादी केन्द्रबीच नयाँ विवाद उत्पन्न भएको हो ।घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पार्ने बेलासम्म माओवादी जनयुद्ध, जनताको बहुदलीय जनवादका अन्तर्वस्तुहरुलाई समावेश गर्ने विषयमा दुई पार्टीबीच मोटामोटी सहमति थियो ।
वाहुलवाद, जनताको बहुदलीय जनवाद (जवज), माओवाद/विचारधारा जस्ता विषयमा दुई पार्टीबीच विवाद उत्पन्न हुन पुगेको हो । त्यही सहमति अनुसार १० वर्षे सशस्त्र विद्रोहलाई इन्भर्टेड कमाभित्र राखेर ‘माओवादी जनयुद्ध’ भनिएको थियो भने घोषणापत्रमा जवज नभनी त्यसका अन्तर्वस्तुमात्र राखिएको थियो ।
घोषणापत्रको प्रारम्भिक मस्यौदामा यसरी जनयुद्ध र जवजको व्यवस्थापन गरिएपनि त्यसलाई अन्तिम रुप दिने बेला दुई पार्टीबीच असमझदारी सिर्जना हुन पुग्यो । घोषणापत्रलाई अन्तिम रुप दिनेबेला एमालेले घोषणापत्रमा जबज र बहुलवाद समेत उल्लेख गर्नुपर्ने प्रस्ताव राख्यो। त्यसमा माओवादी सहमत हुन सकेन ।
एमालेको उपरोक्त प्रस्तावपछि माओवादी केन्द्रले जबज र बहुलवाद राख्ने हो भने ‘माओवाद’ पनि उल्लेख गर्नुपर्ने प्रस्ताव गर्यो । माओवादीको यो प्रस्तावप्रति एमालेपनि सहमत हुन सकेन । कार्यदलमा एमालेका सदस्यहरुले आफूहरुले जनयुद्ध शब्दावली स्वीकार गरेकाले स्पष्ट शब्दमा जबजपनि उल्लेख गर्नुपर्ने तर्क पेश गरेका छन् ।
माओवादी केन्द्रका सदस्यहरुले भने एमालेले ‘माओवादी जनयुद्ध’ स्वीकार गर्दा बदलामा आफूहरुले पनि २०६२/०६३ को शान्तिपूर्ण आन्दोलनलाई स्वीकार गरेको जवाफ दिने गरेका छन् । माओवादी केन्द्रका सदस्यहरुले भने जनयुद्ध विचार नभई आन्दोलनको स्वरुपमात्र बताउँदै ‘जबज’ र ‘बहुलवाद’ त्यो भन्दा भिन्न कुरा भएको बताउँदै स्वीकार गर्न नसकिने बताएका छन् ।
घोषणापत्रमा एमालेको पथ प्रदर्शक सिद्धान्तको रुपमा रहेको जबज र बहुलवाद राख्ने हो भने आफूहरुको पथप्रदर्शक सिद्धान्तको रुपमा रहेको माओवाद/विचारधारा राख्नुपर्ने तर्क माओवादी केन्द्रले गरेको छ ।प्रारम्भिक मस्यौदा निर्माणकार्य अघिल्लो हप्ता नै टुंगिएपनि जबज, बहुलवाद र माओवाद । विचारधारा सम्बन्धमा नयाँ विवाद सिर्जना भएपछि घोषणापत्रलाई अन्तिमरुप दिने काम कार्यदलले टुङ्ग्याउन सकेको छैन ।
प्रतिक्रिया