२० वर्षपछि सुडानमाथिको नाकाबन्दी हटायो अमेरिकाले

२० वर्षपछि सुडानमाथिको नाकाबन्दी हटायो अमेरिकाले


अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ । उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकाबन्दी गत हप्ता हटाएको थियो ।

विगतका वर्षहरुमा मानवअधिकार हननका कैयौँ घटनामा सुडान संलग्न रहेको आरोप अमेरिकाको थियो । सोही कारण अमेरिकाले सुडानमाथि नाकाबन्दी लगाएको थियो ।

पछिल्ला बर्षहरुमा सुडानले मानवअधिकार तथा अन्य नागरिक अधिकारका क्षेत्रमा सुधार गर्दै आएकोले सो नाकाबन्दी हटाइएको अमेरिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

यसैबीच उक्त निर्णयको विश्वका विभिन्न देशले स्वागत गरेका छन् । सो निर्णयको इजिप्टले पनि स्वागत गरेको छ । इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै गत हप्ता गरेको उक्त निर्णयको प्रशंसा गरेको छ ।

विश्वका कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टले सो विज्ञप्तिमा भनेको समाचार एजेन्सी एपीले जनाएको छ ।

सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकाबन्दीको विरोध गर्दै आएको थियो ।