खुसीको धुलो

खुसीको धुलो


– प्रथा

इन्द्रकुटभित्र,
कस्तुरी कार्पेट हालेर
सुल्तानी ठाँटले पल्टिएको छु !
दरबारमा,
अत्तरको तन्ना ओछ्याएर
सुगन्धको रागले लठ्ठिएको छु !
ब्यालेन्स भने जति छ
जलपरीजस्ती श्रीमती छिन् !
शान छ ! मान छ !
घाम–जुनजस्ता छोराछोरी छन्
सुसारेहरूको सङ्ख्या पनि बाक्लै छ !

०००

भक्ति गाउनेहरू छन्
ताली पिट्नेहरू छन्
लाइन बस्नेहरू पनि छन् !
डाहा गर्नेहरू…
खुट्टा तान्नेहरू…
आहा ! भन्नेहरू… सबै सबै छन् !
के–के पो छैन र ?
विलासको सिङ्गो वैकुण्ठ यहीँ छ !

०००

जसरी एक्लै आउँछ
उसै गरी जान्छ एक्लै पारेर !
कति निष्ठुरी छ
यो बेरोजगार दिन पनि !
हँसियाले रेट्नु कि
बसिलाको तीखो धारले ताछ्नु !
थाहा छैन मलाई,
कसरी छोट्याउनु– यति लामो फुर्सदलाई ?

०००

यो एक मुठ्ठी रात
किन सिल्करोडझैँ लाग्छ ?
कसरी भनूँ म
एक झम्कोे निद्रा किन्न
कति चोटि चुस्नुपर्छ
स्लिपिङ ट्याबलेटका ललिपपहरू ?
फिँजले धुँदा पनि
किन पखालिन मान्दैन
यो छटपटी ! यो तनाव !
कि नक्कली पो प¥यो
बाथरुमको भिक्टोरिया स्याम्फु पनि !

०००

निभाउन खोज्छु बत्ती
तर भेट्दै–भेट्दिनँ
कहाँ हुन्छ– आँखाको स्विच ?
जिउ तातेर आउँछ
र इपिसेन्टरझैँ थर्थराउँछ मन !

०००

घर्रा तानेर हेर्छु
चेकबुकका पत्ताहरू बयली खेल्छन् !
दराज खोलेर नियाल्छु
ताराझैँ जगमगाउँछन् गहनाका हारहरू !
कौसीमा निस्किन्छु
र गुलाफको फूल हेर्छु
अँ हँ ! केही गरी घट्दैन
उम्लिन लागेको कराईको दूधझैँ
बढेको बढ्यै छ– मस्तिष्कको कामज्वरो !

०००

के भा’को छ
कुनै डरलाग्दो रोगले
कुरुमकुरुम चपाई पो सक्यो कि ?
यो भाउन्ने बेथाले यसरी
किन छोपिरहन्छ घरीघरी मलाई ?
भोको अजिङ्गरले,
सर्लक्कै मृग निलेजस्तै गरी
किन निल्छ पटकपटक यो तनावको आतङ्कले ?
एम.आर.आई. ऐनाले
किन देखाउँदैन केही पनि ?
भन्नोस् न डाक्टर सा’प
के म सन्चै त छु ?

०००

ननिदाएको पनि धेरै भो !
म अब जान्छु
र त्यही आँटीमा निदाउँछु
जहाँ बुबाले सपना ओछ्याउनुभएको छ !
तिनै फूलको सुगन्ध लिन्छु
जुन फूल सिउरिएर
आमा बैँसालु रहरहरू बुन्नुहुन्छ !
त्यही घाँसको ओखती खान्छु
जसका तरेलीबाट दिदीको विधुवा आँसु बगिरहेछ !

०००

यो कामज्वरो पनि
किन बीसको उन्नाइस हुँदैन ?
म अब सेलाउँछु
त्यही नदीमा चोबलिएर
जहाँ मेरा बालापनहरू बगिरहेछन् !
यो घाउमाथि,
त्यही ढुङ्गाको लेप लगाउँछु
जहाँबाट पुराना यादहरू रसाइरहेछन् !
हो, म अब
त्यही डालीमा बसेर
जिन्दगीको अधुरो गीत गाउँछु
जुन डालीको फुर्कामा
बहिनीको मखमली माया फुलिरहेछ !

०००

म पूरै बहुलाएको छु !
नलैजाऊ मलाई
साइक्याट्रिकको साइको च्याम्बरमा !
‘दरबार छोडेर हिँड्ने
सिद्धार्थ भगौडा हो !’
अब म फिर्ता लिन्छु यो वाक्य !

०००

यो वैकुण्ठ !
यो धनको भोक !
र यो विलासको प्यास छोडेर
म त्यही धुलोमा फर्कन्छु !
जहाँ सुखको सपना देख्दै नदेखी
देशजस्तै हजुरआमा खुसीकी जून हुनुभएको थियो !

०००

हो, डाक्टर सा’प !
म अब,
त्यही गाउँमा जान्छु
जहाँ आमाको हाँसो सुनेर
ओथारा बसेका चरीहरू बिच्केर उडिरहेछन् !