‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्णपदक

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्णपदक


मित्रराष्ट्र बेलायतको वेल्स, ब्रेकनमा गत असोज २७ देखि यही कात्तिक ५ गतेसम्मसञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०१७’ (Exercise Cambrian Patrol 2017) मा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोली बेलायत गएको थियो ।

युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने उक्त विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ । अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमीटर दूरी पार गर्ने क्रममा सहभागी टोलीकोे लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरू सम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका एकसय एघार र नेपाल समेत अन्य २८ देशका गरि जम्मा १ सय ३९ सैन्य टोलीको सहभागिता रहेको थियो । उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व गोरखबक्स गण तथा विशेष फौज बाहिनीका टोलीले गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिने अन्य राष्ट्रको फौजमध्ये करिब ३३ प्रतिशत सहभागीहरूले सो अभ्यास पूरा गर्न सकेका थिएनन् । मित्रराष्ट्र बेलायतमा सैनिक युद्धकलाहरुमा आधारित क्याम्ब्रियन पट्रोल शुरु भएको ५० वर्षभन्दा बढी भइसकेको छ ।

विगतमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्न नेपाली सेना सफल भइरहेको परिप्रेक्ष्यमा यस प्रकारको अत्यन्त व्यवसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्न सक्ने अभ्यासमा सहभागी हुन शुरू गरेको केहि वर्षभित्रै आफूलाई अब्बल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल भएबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुको साथै मित्रराष्ट्र बेलायत लगायत अन्य सहभागि सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ ।