थाइल्याण्डको सफलता मकाउमा दोहऱ्याउने प्रतिबद्धता

थाइल्याण्डको सफलता मकाउमा दोहऱ्याउने प्रतिबद्धता


– श्रीविक्रम भण्डारी (थाइल्याण्ड, बैङ्कक)

१२ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी सुनिता तामाङलाई यतिबेला अन्तर्राष्ट्रिय सफलता प्राप्त भएको छ । सुनिताले लामो समयको मेहनतपश्चात यो सफलता हात पारेकी हुन् । उनलाई हालै थाइल्याण्डको बैङ्ककमा सम्पन्न तिरक तेक्वान्दो अन्तराष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण सफलता प्राप्त भएको हो ।

बुवा सिंह तितुङ तामाङको प्रेरणा र प्रशिक्षक अर्जुन घलेको विशेष प्रशिक्षण सुुनिता अहिलेको स्थानमा पुगेकी हुन् । धनकुटाको हिलेवबट तेक्वान्दो प्रशिक्षणको शुभारम्भ गरेकी सुनिताले यो स्थानसम्म आइपुग्न निकै मिहनेत गर्नुपरेको कसैबाट छिपेको छैन ।

सानै उमेरदेखि तेक्वान्दोमा अव्बल सावित हुँदै आएकी सुनिता पूर्वान्चनकी चर्चित खेलाडी हुन् उनी । उनले पूर्वान्चलमा आयोजना भएका प्रायजसो सबै प्रतियोगितामा स्वर्ण पदक जितेर आफुलाई तेक्वान्दोको आशलाग्दो खेलाडीको रुपमा प्रस्तुत गरिसकेकी छिन् ।

मोफसलका थुप्रै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुनिताले पहिलोपटक सुदुरपश्चिमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागिता जनाउने अवसर पाएकी थिइन् । यो नै उनको खेल जीवनको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । उनी त्यसबेला ग्रीन बेल्टकी खेलाडी थिइन् । उनले त्यहाँ ४९ किलोमा प्रतिस्पर्धा गरेकी थिइन् ।
छैटौंमा सुुनिताको प्रदर्शन उत्कृष्ट रहे पनि उनी पदक जित्नबाट भने वञ्चित भएकी थिइन् । जसलाई उनले नराम्रो सपनाको रुपमा व्याख्या गरेकी छिन् ।

छैठौं राष्ट्रिय प्रतियोगिता पश्चात चितवनमा आयोजना भएको राष्ट्रिय तेक्वान्दो आमन्त्रण प्रतियोगिता खेल्ने अवसर पाएकी सुनिताले त्यहाँ उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकसंगै बेष्ट महिला फाइटरको उपाधि जितेकी थिइन् । यो उनको खेल जीवनको सवैभन्दा उत्कृष्ट प्रदर्शन थियो । जसलाई सुनिताले कहिल्यै भुल्न नसक्ने बताएकी छिन् ।

पूर्वान्चलमा आयोजना भएको सातौं राष्ट्रिय प्रतियोगितामा सुनितालाई स्वर्ण पदकको प्रमुख दावेदारको रुपमा हेरिएको थियो । दुर्भाग्य, उनले पहिलो राउण्डमैमा तेक्वान्दोकी अन्तर्राष्ट्रिय खेलाडी यानकुमारी चौलागाईको सामना गर्नु प¥यो । परिणामतः अनुभवको कमीले गर्दा सुनिता पहिलो राउण्डबाटै वाहिरीनु परेको थियो । उनले त्यहाँ ४९ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् ।

त्यसपछि काठमाडौंमा भएको हुमेन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५३ केजीमा प्रतिस्पर्धा गरेकी सुनिताले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कास्य पदक जित्न सफल भएकी थिइन् ।

सुनिताको यहि उत्कृष्ट प्रदर्शन का कारणले नै उनी हालै थाइल्याण्डको बैङ्ककमा सम्पन्न भएको तिरक तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि छनोंट भएकी थिइन् । यहाँ पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेपछि अहिले चर्चाको शिखरमा पुगेकी छिन् ।

यो सफलतापछि निकै उत्साहित सुनिताले यहि अक्टोवर २८ तारिखदेखि मकाउमा आयोजना हुन गैरहेको ‘मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिप’मा थाइल्याण्डको सफलता दोहऱ्याउने प्रतिबद्धता जनाएकी छिन् ।