राष्ट्रियताको नाममा पितृसत्ता -बबिता बस्नेत

राष्ट्रियताको नाममा पितृसत्ता -बबिता बस्नेत


नेपाली समाजमा छोरीलाई हेर्ने दृष्टिकोणको कुरा गर्न यहाँ धेरै उदाहरण दिइरहनु आवश्यक छैन, घरपरिवारमा हुने सानातिना झैं लाग्ने तर गम्भीर असर गर्ने प्रकारका अनेक विभेद कायम छन् । घरेलु हिंसादेखि लिएर लैङ्गिक हिंसाका विविध रूपहरू पनि हामीसामु छँदै छन् । तर, अहिले यो मुलुकमा आर्श्चर्यजनक कुरा के भएको छ भने एक्काइसौँ शताब्दीको ‘गणतान्त्रिक नयाँ नेपाल’को राज्य व्यवस्थाले समेत महिलामाथि विभेदकारी नीतिहरू संविधानमै सुनिश्चित गर्ने प्रयास गरिरहेको छ । महिला अधिकारको सवालमा प्रगतिशील मानिने नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संयोजक रहेको ‘उच्चस्तरीय’ कार्यदलले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेमा पुरुषले तुरुन्तै नागरिकता प्राप्त गर्न सक्ने र महिलाले विदेशी पुरुषसँग विवाह गरेमा ती महिलाका पतिले नागरिकता लिन १५ वर्षपर्खनुपर्ने प्रावधान राखेको छ । यो कुरा झट्ट सुन्दा त्यति ठूलो मुद्दाझैं लाग्दैन, या यस्तो पनि लाग्न सक्छ- ठीकै त छ नि विदेशी पुरुषलाई नेपाली नागरिकता किन दिने ? राष्ट्रियताको सवाल हो, राष्ट्रियताको मुद्दामा सम्झौता किन गर्ने ? मनमा उब्जिन सक्ने या उब्जिरहेको यो प्रश्नका लागि एकैछिन तुलसालता अमात्यको जीवनमा भएको घटनालाई हेरौँ । तुलसा नेपाली काङ्ग्रेससँग सम्बद्ध -लामो समय नेपाल महिला सङ्घको पदाधिकारी भएर काम गरिसकेकी) अधिकारकर्मी हुन् । काठमाडौंमै जन्मिएर नेवारी संस्कारमा हुर्किएकी उनी अहिले सामाजिक संस्थासँग सम्बद्ध छिन् । सन् ८० को दशकमा नेपालमा बसेर अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहेका नेदरल्यान्डका नागरिक बास भान्दुर्सबर्गले उनलाई मन पराए र विवाहको प्रस्ताव राखे । विवाहका लागि तुलसाले तीनवटा र्सत राखिन्- बाबुआमा र परिवारका सदस्यसँग नेपाली परम्पराअनुसार माग्न जानुपर्ने, चुरोट-रक्सी छोड्नुपर्ने र विवाहपछि नेपालमै बस्नुपर्ने । तुलसालाई असाध्यै माया गर्ने डच नागरिक बासले उनका तीनवटै र्सत मानेपछि नेवारी संस्कारअनुरूप धुमधामसँग उनीहरूको विवाह भयोे । सुरुमा पर्यटक भिसामा नेपालमा रहँदै आएका उनले अब श्रीमतीका लागि नेपालमा पैसा तिर्दै भिसा नवीकरण गर्दै -त्यो पनि सजिलै होइन, अनेक झन्झट र सम्बन्धित नेपाली अधिकारीहरूले दिने मानसिक तनावका बीच) बस्नुपर्ने भयो । नियमअनुसार उनी एकपटकमा चार महिनाभन्दा बढी नेपाल बस्न पाउँदैनथे, भिसा लगाएको तीन महिना हुन लागेपछि उनलाई तनाव सुरु हुन्थ्यो- अब कहाँ जाने ? श्रीमान्ले पाएको दु:ख देख्दा तुलसालाई असाध्यै ग्लानि हुन्थ्यो, त्यसैबीच उनीहरूका दुई छोरी र एक छोरा भए । प्राय: हुनेखाने विदेशी नागरिकले छोराछोरी लिङ्कन या ब्रिटिस स्कुलमा पढाउँछन्, तुलसाले बुढानीलकण्ठमा राखिन्, श्रीमान्को भिसा नवीकरण कार्य जारी थियो, अब त्यो झन्झट छोराछोरीलाई सुरु भयो । परराष्ट्र मन्त्रालयले विदेशी नागरिकका छोराछोरी भनेर पासपोर्ट दिएन, नेपालमा बसेको डकुमेन्टसमेत बनाउन धेरै तनाव झेल्नुपर्‍यो, पैसा खर्च गर्नुपर्‍यो । नेपाली, नेवारी संस्कारमा हुर्किएका, यहीँको खाना मन पराउने, मेरो देश नेपाल भनेर पढेका, आफ्नो देश नेपाल नै हो भनी बाल्यापन र किशोरावस्था बिताएका ती बच्चाहरूले अन्तत: नागरिकता प्राप्त गर्न आफ्ना बाबु जन्मिएको देश र्-कर्मभूमि त उनको नेपाल नै थियो) नेदरल्यान्ड जानुपर्‍यो । हिँड्ने बेलामा छोराछोरीले रुँदै आमालाई भने- हामीले आफ्नो ठानेर हुर्किएको तपाईंको देशले हामीलाई तिम्रो देश जाऊ भनेर पराई मुलुकमा पठाइदियो, छोराछोरी, लोग्ने कसैलाई साथमा राख्न नपाउने तपार्इंको देशले हामीलाई धेरै तनाव दियो, सक्नुहुन्छ भने तपाईं पनि हामीसँग हिँड्नुस्, हामी बाबुआमासँगै बस्न चाहन्छौँ ।
तुलसा गइनन् र उनका पति बास पनि यहीँ छन्, चाहेको भए विवाह गरेको १५ वर्षछि उनले नेपालको नागरिकता लिन सक्थे । तर सोचे- लामो समय तनावमा बित्यो अब कति बाँचिएला र ? नागरिकता दिएर भयङ्करै गुण लाएझैं किन पारूँ ? नेपाली र नेवारीमै कुरा गर्न सहज मान्ने उनी अहिले पनि महिनाको दस डलर भिसा फी तिरेर बसिरहेका छन् । नेपाली छोरी विवाह गर्नुको पीडा उनले खुब भोगे । तर, भन्छन्- उनी जन्मिएको देश, मैले मेरी जीवनसाथी पाएको देश, मलाई कुनै गुनासो छैन । अहिले नागरिकताको सवालमा नयाँ संविधानमा जुन व्यवस्था गर्न लागिएको छ त्यसबाट बासजस्ता धेरैले तनाव झेल्नुपर्नेछ । बासझैं प्रतिबद्ध सबै हुन्छन् भन्ने छैन, सोही निहुँमा तिम्रो देशमा तिमी नै बस भनेर अवस्था सम्बन्धविच्छेदसम्म पुग्यो भने त्यसमा पनि कुनै आर्श्चर्य मान्नुपर्ने छैन । घटना जे-जस्ता भए पनि यसप्रकारको विभेदकारी नीतिले नेपाली महिलाको आत्मसम्मानमा चोट पुर्‍याएको छ । अहिलेको संविधानमा गर्न लागिएको व्यवस्थाले नेपाली महिलाप्रतिभन्दा विदेशी महिलाप्रति बढी संवेदनशीलता देखाएको छ, कानुनका ज्ञाता सविन श्रेष्ठको भनाइमा आफ्ना छोरीलाई पराइ र बुहारीलाई आफ्नो ठानिएको छ । छोराले जोसुकैसँग विवाह गरोस् बुहारीले सजिलै नागरिकता पाउने तर छोरी भएकै कारणले उसले आफ्नो पारिवारिक जीवन आफूले चाहेजसरी बाँच्न नपाउने । राष्ट्रियताको नाममा पितृसत्तात्मक सोचलाई नीतिगत रूपमै मजबुद बनाउने कोसिस गएकिो मात्र छैन नागरिकताको सवालमा राष्ट्रियतालाई अगाडि सारेर यो देशका छोरीहरूको आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको इमानदारीमाथि शङ्का गरिएको छ । यसप्रकारको शङ्का गर्ने अधिकार राजनीतिक दलका नाममा देशलाई बर्बादीतर्फधकेल्नेहरू त के, कसैलाई पनि छैन, तीन करोड नेपाली जनतामा महिलाको सङ्ख्या आधा छ, डेढ करोड नेपाली महिलाको आत्मसम्मानमा चोट पुर्‍याएर उनीहरूको अधिकारको फैसला गर्ने अधिकार सातजना नेतालाई छैन । यो नीति अवलम्बन गर्नुमा ‘छिमेकी मुलुक र मधेसबीच बिहेबारी हुने भएकाले’ भन्ने तर्क अगाडि सारेको पाइन्छ । तर, छिमेकी मुलुकका मानिसलाई नागरिकता लिन यहाँ विवाह गरिरहनुपर्ने नै के छ र ? नेपालको तराईमा नागरिकता बाँड्दै गर्दा पटनामा ‘नेपालका नागरिकताके लिए सर्म्पर्क कार्यालय’ भन्ने साइनबोर्डसहितको फोटो नै प्रकाशित भएको थियो, होइन र ? छिमेकीहरू नागरिकता प्राप्त गर्नबाट अहिले पनि कहाँ रोकिएका छन र ?