राष्ट्रिय करातेकोे प्रायोजक बन्दै सम्झना लेवोरेटरी

राष्ट्रिय करातेकोे प्रायोजक बन्दै सम्झना लेवोरेटरी


काठमाडौमा आयोजना हुने ५० औँ राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुरस्थित सम्झना लेवोरेटरीले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजन सम्बन्धी सम्झौतापत्रमा कराते महासंघको तर्फबाट महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेवोरेटरीको तर्फबाट अध्यक्ष उर्दिप जोशीले हस्ताक्षर गरे । अब राष्ट्रिय करातेको प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय कराते प्रतियोगिता रहने छ ।

दरबारमार्गस्थित रोयल सिंगी होटलमा भएको सम्झौता अनुसार दक्षिण एशियाली खेलमा सर्वाधिक पदक प्राप्त गर्ने खेलको रुपमा इतिहास रच्न सफल खेल करातेलाई सम्झना लेवोरेटरीले करिव १५ लाख बराबर आर्थिक तथा भौतिक सहयोग गर्ने जनाईएको छ । जस अन्तरगत ८ लाख ५० हजार नगद (कर बाहेक), खेल सामाग्री र अन्य सहयोग रहेका छन् ।

सम्झौता पत्रका अनुसार ल्याबले प्रतियोगिताका दौरान उपचार टोली र आकस्मिक सेवाका लागि एम्बुलेन्स व्यवस्था गर्ने, राष्ट्रिय प्रतियोगिताबाट छनौट भएका २३ खेलाडीहरुलाई १८ औं एशियाली खेलकुद सम्म निशुल्क ल्याब टेष्टको सुविधा प्रधान गर्ने र एशियाड खेल सम्म २३ खेलाडीहरुलाई दुई सेट खेल सामाग्रि उपलब्ध गराउने र त्यस बापत सम्झना लेवोरेटरीको सक्दो प्रचार प्रसार गर्ने रहेको छ ।

आगामी बर्ष इन्डोनेसियामा आयोजना हुने १८औं एशियाली खेलकुद तथा नेपालमा नै आयोजना हुने १३ औैं दक्षिण एशियली खेलकुदलाई मध्यनजर राख्दै आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय प्रतियोगितामा महिलाका ७ तौल र पुरुषका ८ तौल समूह तथा दुवै तर्फ एकल र टिम कातामा प्रतिस्पर्धा गराईने छ । यस अधि जानकारी गाराईए भन्दा बढि महिला तर्फ ४० र पुरुष तर्फ ४५ केजीलाई समावेश गरिएको समेत प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराए । जसमा पाँच विकास क्षेत्र र तीन विभागिय टोलीका १ सय ८४ खेलाडीहरुले २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

२९ लाखको अनुमानित लागत रहेको प्रतियोपिगताको डिस होम प्रा.लि.ले प्रत्यक्ष प्रसारण गर्ने हस्ताक्षर कार्यक्रममा संयोजक श्रेष्ठले जानकारी गराए ।