पोखरामा ५० लाखको लागतमा अन्तर्राष्ट्रिय कराते प्रशिक्षण हल बन्ने

पोखरामा ५० लाखको लागतमा अन्तर्राष्ट्रिय कराते प्रशिक्षण हल बन्ने


कराते खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरामा अन्तर्राष्ट्रियस्तरको कराते प्रशिक्षण हल निर्माण हुने भएको छ । नेपाल सितोरियो सेको काई कराते संघको पहलमा बन्न लागेको हलको अमेरिकाको हिमालयन फाउन्डेशनका सचिव रामबाबु पाण्डेले शिलन्यास गरे । शिलान्यास गर्दै सचिव पाण्डेले समाजमा स्वस्थ नागरिक उत्पादन गर्न खेल मैदान तथा प्रशिक्षण केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिए ।

करिव ५० लाखको लागतमा बन्ने हलको लागि फाउन्डेशनले २० लाख प्रदान गर्नेछ भने बाँकी रकम अन्य स्वदेशी तथा विदेशी संघ संस्था तथा खेलप्रेमीहरुको आर्थिक सहयोगमा निर्माण हुने नेपाल सितोरियो सेको काई करातेका संस्थापक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले जानकारी गराए ।

फाउन्डेशनकी अध्यक्ष शुष्मा गुरुङले कामको सिलसिलामा विदेशमा भएता पनि स्वदेशको सामाजिक विकासमा सदा लागि रहेको भन्दै विगतमा पनि छात्रवृत्तिदेखि भूकम्पप्रभावित विभिन्न क्षेत्रमा सहयोग पुऱ्याउंँदै आएकोमा यसपटक खेल क्षेत्रमा सहयोग गरेको बताइन् । योसहित संस्थाको पाँचौ पटकको प्रोजेक्ट सहयोग भएको समेत गुरुङले जनाइन् । एसियन गेम, ओलम्पिकमा समेत सहभागि यस खेलमा नेपालको पदकको राम्रो सम्भावना देखेर आफुहरुले एकेडेमी संचालन गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष गुरुङको भनाई छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ स्थित चाउथे पार्दि चौतारा क्षेत्रमा बन्ने हल एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । आगामी एक वर्षभित्रमा पोखरामा अन्तराष्ट्रिय स्तरको प्रशिक्षण हल सहितको एकेडेमी निर्माण गर्ने लक्ष्य रहेको संस्थापक गुरुङले जनाए । उनले पोखरामा अत्याधिक कराते खेलाडी भएता पनि खुला आकाशमुनी प्रशिक्षण गर्दा घाम पानीको समस्या भोग्दै आएकोमा आगामी बर्ष देखि करातेका खेलाडीहरुले एकेडेमी सहितको कभर्डहल प्राप्त गर्ने र पोखरामा कराते खेलाडीको उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।