आत्मघाती चुनाव गराउन ‘बहादुरीका साथ’ अघि बढे देउवा

आत्मघाती चुनाव गराउन ‘बहादुरीका साथ’ अघि बढे देउवा


प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरूबाट मनोनयनपत्र दाखिला भइसकेपछि पनि निर्धारित समयमै चुनाव सम्पन्न हुनेमा केहीले आशङ्का गरेका छन् । आशङ्का गर्नेमा सबैभन्दा बढी वामपन्थी गठबन्धनसम्बद्ध नेताहरू रहेका छन् । स्मरणीय छ, कम्युनिस्ट गठबन्धनका नेताहरूले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने पूर्णविश्वास गरेका छन् । आफू पराजित हुने निर्वाचन कतै शेरबहादुर देउवाले कुनै निहुँ बनाएर रोक्ने हुन् कि भन्ने त्रासका कारण कम्युनिस्ट नेताहरू ज्यादा सशङ्कित भएको पाइएको छ ।

वास्तवमा प्रधानमन्त्री देउवा मुख्य दुई कारणले घोषित मितिमा निर्वाचन सम्पन्न गराउन चाहन्छन् । पहिलो, ‘चुनाव घोषणा गर्ने तर सम्पन्न गराउन नसक्ने’ भनी आफूमाथि लागेको पुरानो दाग उनी मेट्न चाहन्छन् । दोस्रो, सुरक्षा निकायका केही उच्चाधिकारीलाई निवासस्थानमा बोलाएर परामर्श गर्दा उनीहरूले ‘वाम गठबन्धनको खासै प्रभाव नपर्ने र निर्वाचनमा प्रजातान्त्रिक पक्ष नै बलियो देखिएको’ भन्ने ‘विवरण’ दिएकोले देउवाले ढुक्क भएर निर्वाचनमा जाने मन बनाएका छन् । कम्युनिस्ट गठबन्धनले जस्तो अपेक्षा राखेको छ, उनीहरूले चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन जे–जस्ता कार्यनीतिक एवम् रणनीतिक योजना बनाएका छन् र स्वतन्त्र विश्लेषकहरूले परिस्थितिको विश्लेषण जसरी गरिरहेका छन् त्यसबारे प्रधानमन्त्री देउवा पूर्ण अनभिज्ञ रहेको बुझिन्छ ।

सुरक्षा निकायसम्बद्ध केही उच्चाधिकारीहरूको ‘फिडब्याक’ले देउवालाई निर्वाचन घोषित मितिमै सम्पन्न गर्न उत्साहित तुल्याएको छ । त्यसैले कम्युनिस्ट गठबन्धन चुनाव रोकिने आशङ्काबाट जसरी ग्रस्त हुन पुगेका छन्, त्यति आशङ्कित र आतङ्कित हुनुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन । तथापि कम्युनिस्टले जित्ने चुनाव गराउन नेपालको प्रजातान्त्रीकरण प्रक्रियामा सहयोगी रहँदै आएका मुलुकहरू कसरी सकारात्मक रहलान् भन्ने प्रश्न भने उठेको छ ।

चुनावमा दुईतिहाइ बहुमत हासिल गरेर संविधान संशोधनमार्फत ‘समाजवाद’ स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको कम्युनिस्ट गठबन्धनले दुईतिहाइ स्थानमा विजय हासिल गर्न कठिन भए पनि सामान्य बहुमत प्राप्त गर्न मुस्किल देखिएको छैन । देशको स्थिति, राजनीतिक दलहरूको प्रभाव, चुनावी वेभ, जनताको मनस्थिति, उम्मेदवार चयनका आधार, पार्टीका मूल नेताहरूको व्यक्तित्वको प्रभाव, चुनावी नीति र कार्यक्रम आदिको अध्ययनका आधारमा विश्लेषण गर्दा आगामी निर्वाचन परिणाम नेपाली काङ्ग्रेसका निम्ति अत्यन्त दुःखद हुन सक्ने देखिएको छ ।

प्रारम्भिक विश्लेषणमा नेकपा एमाले प्रतिनिधिसभाको कुल १६५ मध्ये ७० भन्दा बढी स्थानमा विजयी बन्ने सम्भावना देखिएको छ भने माओवादीले करिब २२ स्थान हासिल गर्न सक्ने सम्भावना छ । त्यस्तै नेपाली काङ्ग्रेसलाई करिब ४० स्थानमा विजय प्राप्त हुन सम्भव देखिन्छ भने फोरम र राजपाले करिब २३ तथा दुवै राप्रपाले गरीकन बढीमा आठ स्थान हासिल गर्न सक्ने देखिएको छ । यसरी हेर्दा काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई कुल ७५ स्थान पनि प्राप्त हुने सम्भावना देखिँदैन । जब कि कम्युनिस्ट गठबन्धनलाई कम्तीमा ९२ सिट प्राप्त हुन सम्भव छ ।

चुनावी माहोलमा कुनै अप्रत्यासित परिवर्तन देखा नपरेको अवस्थामा चुनावी परिणाम कम्युनिस्ट गठबन्धनको पक्षमा जाने निश्चितप्रायः मानिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि मुख्य तीन विकल्प देखिएका छन् । पहिलो, काङ्ग्रेसको मौलिक एजेण्डा पुनस्र्थापित गरी चुनावमा कार्यान्वयको ठोस प्रतिबद्धतासहित जाने । दोस्रो, हाल तयारी गरेअनुरूप नै सामान्य किसिमबाट निर्वाचनमा सहभागी हुने र तेस्रो, कुनै कारणवश निर्वाचन सार्ने । यदि पहिलो विकल्प अर्थात् काङ्ग्रेसले हिन्दू राज्यको स्थापनासहित आफ्ना मौलिक एजेण्डा पुनस्र्थापित गर्ने र कार्यान्वयनको प्रतिबद्धतासहित निर्वाचनमा नजाने हो भने पार्टी ठूलो मतान्तरले दोस्रो हैसियतमा सीमित हुनुपर्नेमा शङ्का गर्नुपर्ने अवस्था देखिन्न ।

यथास्थितिमा निर्वाचनमा जानु भनेको काङ्ग्रेसका लागि आत्मघाती हुन सक्ने अनेकौँ सङ्केतहरू देखिँदै छन् । निर्वाचन सारेर अगाडि गएको अवस्थामा भने कम्युनिस्ट गठबन्धनबाट उत्पन्न हुन सक्ने तनाव थेग्न कठिन हुने भए पनि चुनावीअनुकूलता आफ्नो पक्षमा क्रमशः बन्दै जाने विश्वास गर्न सकिन्छ । चुनाव गराएर ‘मर्ने’ कि चुनाव सारेर ‘बाँच्ने कोसिस गर्ने’ भन्ने विकल्पमध्ये प्रधानमन्त्री देउवा ‘चुनाव गराएर मर्ने’ बहादुरी प्रस्तुत गर्न कस्सिएका छन् । कुनै अप्रत्यासित घटना भएन भने निर्वाचन निर्धारित समयमै सम्पन्न हुने र कम्युनिस्ट गठबन्धनले अग्रता हासिल गर्ने निश्चित देखिएको छ ।