कात्तिक १५ देखि नारायणगढ-मुग्लिन सडकमा पुनः यातायात रोकिने

कात्तिक १५ देखि नारायणगढ-मुग्लिन सडकमा पुनः यातायात रोकिने


नारायणगढ–मुग्लिन सडकका कारण आउँदो वर्षामा यात्रुले दुःख नपाउने सम्बद्ध प्राविधिकहरुले दाबी गरेका छन् । मर्मत तथा विस्तार कार्य सुरु भएको तीन वर्ष बित्न लाग्दा पनि असरल्ल काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकले धेरैलाई पिरोल्दै आएको छ । निर्माण कार्यमा भएको सुस्तताको व्यापक आलोचना भएपछि उक्त सडक खण्ड पुनः दिउँसो यातायात रोकेर काम थालिने जनाइएको छ ।

उक्त सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ तिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल जारी रहेको उनले बताए ।

ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरे पनि ६ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको जानकारी दिँदै उनले भने, ‘अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेरै कामलाई तीव्रता दिनेछौँ ।’ यसअघि वर्षा शुरु हुनुपूर्व दैनिक आठ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो ।

नारायणगढ मुग्लिन सडकखण्डमा करिब आठ सय मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी नरोके काम सम्भव नहुने प्राविधिकहरु बताउँछन् । ठेकेदार कम्पनीलाई फेब्रुअरी २० तारिकसम्मको समय रहेको भए पनि गएको वर्षामा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने छ भन्दै आयोजना प्रमुख यादवले आगामी अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न ठेकेदारलाई निर्देशन दिइएको छ । उक्त सडक निर्माण शुरु भएको आउँदो अप्रिलमा तीन वर्ष पुग्दैछ । तर, हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ ।