टे.टे. संघको विवाद छानबिन गर्न समिति गठन

टे.टे. संघको विवाद छानबिन गर्न समिति गठन


युवा तथा खेलकुद मन्त्रालयले नेपाल टेबुल टेनिस संघको विवादमा परेको उजुरीको आधारमा छानविन समिति गठन गरेको छ । नेपाल टेबुल टेनिस संघका महासचिव कुवेरप्रकाश सिंहले ०७४ साल कार्तिक ७ गते खेलकुद मन्त्रालयमा एक निवेदन दर्ता गरेका थिए । त्यसैका आधारमा छानविन समिति बनाइएको हो ।

छानविन कमिटी तीन सदस्यीय रहेको छ । जसमा मन्त्रालयका उपसचिव रत्नबहादुर कटुवाल संयोजकत्व रहेका छन् भने मन्त्रालयकै शाखा अधिकृत सागरप्रसाद सिग्देल सदस्यसचिव र राष्ट्रिय खेलकुद परिषदका कानुन अधिकृत नारायणराज अर्याल सदस्य रहेका छन् ।

नेपाल टेबुल टेनिस संघको विवाद लामो समयदेखि चल्दै आएको छ । संघको निर्वाचनको क्रममा तत्कालिन टेबुल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले अन्तिम समयमा अवैधानिक रुपमा विभिन्न जिल्ला गठन गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि टे.टे. संघको निर्वाचन स्थगित भएको थियो ।

टे.टे. संघको निर्वाचन स्थगित भएपछि सोहि समयमा वृजेन्द्र हमालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध गठन भएको थियो । त्यसको ३ महिनापछि राखेपमा उपाध्यक्ष लामा टेण्डी शेर्पाको हस्तक्षेपमा पुनः टेटेको निर्वाचन गरिएको थियो । जसमा चतुरानन्द राजबैद्यलाई अध्यक्षमा निर्वाचित गरिएको थियो ।

उक्त अवैधानिक कार्य गर्न र गराउनमा स्वघोषित राष्ट्रिय खेल संघसंस्था गठन विघटन गर्ने जिम्मेवारी पाएका लामाको विशेष हात रहेको थियो । यसमा सर्वोच्चबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि ठूलो भूमिका रहेको थियो । राखेपले यो विवादलाई सुक्ष्म रुपमा हेरे पनि कुनै कदम चालेको थिएन । र पनि, जीवनराम र शेर्पाले राखेपका खेलकुद विकास विभाग प्रमुख कुलवहादुर थापालाई मतियारको रुपमा प्रयोग गरेका थिए ।

चतुरानन्द राजवैद्य र कुलबहादुर थापा जीवनराम श्रेष्ठका ‘एस म्यान’को रुपमा खेलकुदमा परिचित छन् ।