सिन्धु कांग्रेसमा राजनीतिको मूलधारमा रहेका नै बाहिरिए !

सिन्धु कांग्रेसमा राजनीतिको मूलधारमा रहेका नै बाहिरिए !


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

नेपाली कांग्रेसमा रहेर लामो समयदेखि राजनीतिक झोला बोकेर मूलधारमा रहेका नेता तथा कार्यकर्तालाई उछिन्दै प्रदेश सभाका लागि विष्णुबहादुर खत्री, राजेन्द्रकुमार श्रेष्ठ, विकास तामाङ र निमा लामा ह्योल्मो सिन्धुपाल्चोकको ४ वटा प्रदेश सभाको सदस्यमा उम्मेदवार बन्न सफल भएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर १ मा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको विकल्प खोज्ने अवस्था थिएन । जित्न सक्ने उम्मेदवार उनी मात्र हुन् भन्ने बुझाई आम कार्यकर्ता र विपक्षीमा समेत छ । उनको टिकटमा कसैले प्रश्न उठाउने ठाउँ थिएन । प्रदेश सभाका लागि भने धेरै जनाले आफ्नो दावी प्रस्तुत गरेका थिए । यो दौडमा सधै राजनीति भनेर दौडनेहरु ५ वर्षका लागि पछारिएका छन् । अर्थात पैसा नभएको र गुटको इमान्दार बन्न नसकेको बुझाईमा पार्टीले उनीहरुलाई पछारेको छ ।

गजव त के छ भने सधैं कोइराला पक्ष र रामचन्द्र पौडेलको क्याम्प भन्दै वकालत गर्ने भुपेन्द्रबहादुर थापा र कृष्ण न्यौपानेको नाम कांग्रेसको संसदीय बोर्डमा चर्चा गर्नसमेत त्यही गुटले रोक्यो । उनीहरुलाई टिकट नदिन पौडेल नै सक्रिय भूमिका निर्वाह गरेका थिए । सञ्चारमन्त्री बस्नेत तिहारअगावै विदेश जानुअघि खत्री र श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको क्याम्पबाट विरोध नगर्ने परिस्थिति बनाइदिएका थिए ।

पौडेल र कोइरालाले अस्वीकार गर्न सक्ने भएपछि खत्री र श्रेष्ठले शक्ति केन्द्रको प्रयोग गरेर टिकट लिन सफल भएका हुन् । उता स्थानीय निर्वाचन अघिसम्म एमाले जिल्ला कमिटी सदस्य रहेका निमा लामा ह्योल्मोले प्रदेशको टिकट लिन सफल भएका छन् । उक्त प्रदेशमा वर्षौदेखि पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई उनले उछिनेका छन् । उनी २०६४ देखि नै एमाले निकट थिए । २०७० सालको निर्वाचनमा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई सहयोग गरेका थिए । स्थानीय निर्वाचनमा हेलम्बू गापा २ मा उनकै कारणले कांग्रेसका उम्मेदवार विजय तामाङ पराजित भएका थिए । उनी स्थानीय निर्वाचनका बेला पनि एमाले निकट थिए । त्यतिबेलासम्म उनी एमाले जिल्ला कमिटिमा थिए । गाउँ प्रमुखमा निमाग्याल्जेन शेर्पाले जितेपछि निमा कांग्रेस निकट भएका थिए । कांग्रेसका पुराना नेता कान्छा लामाको शेर्माथाङ स्थित होटलको साझेदार निमालाई टिकट दिलाउन कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय बोर्डका सदस्य मिनेन्द्र रिजालले सहयोग गरेका थिए । यसको व्यवस्थापनको नेता कान्छा लामाले मिलाएका थिए । विकास लामा(सानो) लाई टिकट दिन भने कांग्रेस महामन्त्री शशांक कोइरालाले सहयोग गरेका थिए ।

कसरी पाए राजेन्द्रले टिकट ?

प्रधानमन्त्री देउवा पत्नी आरजुमार्फत टिकट पाउने भएपछि कोईराला र रामचन्द्र क्याम्पबाट सहमति जुटाउने श्रेष्ठले विवादास्पद पूर्व सहसचिव भरत सुवेदीमार्फत नेताहरुसँगको भेटघाट सुरु गरेका थिए । मन्त्री बस्नेत विदेश गएपछि यो क्याक्प बलियो बनाउने उनले सुवेदीमार्फत रामचन्द्र र रामशरण महतसँग भेटेका थिए । महतले ‘ग्रीन सिग्नल’ नदिएपछि श्रेष्ठ, सुवेदी र रामचन्द्रका छोरा चिन्तन पौडेलसँग राजधानीको लाजिम्पाट स्थित एक होटलमा लामो छलफल भएको थियो । रामचन्द्रले छोरा चिन्तनमार्फत टिकट ‘कन्फर्म’ गराएका थिए । २०५६ मा तातोपानी भन्सार प्रमुख भएदेखि नै विवादमा तानिएका सुवेदी राजश्व समूहका निकै ‘विवादास्पद’ व्यक्ति मान्छिन् । अख्तियारले २०५९ मा घरमा छापा मारेपछि लामो समय भागेर बसेका थिए । अख्तियारले दायर गरेको मुद्धा जितेपछि जागिरमा फर्केका सुवेदीले नागरिकतामा आफ्नो उमेर सच्याएको प्रमाण भेटिएको थियो । किर्ते गरेको उमेरलाई मान्यता नदिएपछि उनले अवकाश पाएका थिए । २०६४ पछि माओवादी निकट रहेका सुवेदी अहिले फेरि कांग्रेस नेताहरुसँग उठबस बढाएका हुन् ।

भन्सार र राजश्वमा बस्दा नेताहरुलाई राम्रैसँग रिजाएका सुवेदीले आफ्नो पुरानो प्रभावलाई फेरि ब्यूँताएका छन् । तातोपानी भन्सारमा हुँदाको व्यापारिक समबन्धलाई श्रेष्ठले अहिले राम्रैसँग उपयोग गरेका छन् ।

रामचन्द्र नै प्रस्तावक !

टिकटको कुरा चल्ने बितिक्कै खत्री र श्रेष्ठको पक्षमा रामचन्द्रले नै खुलेर समर्थन जनाएका थिए । कृष्णप्रसाद सिटौला, शेखर कोइराला, रामशरण महत र अर्जुननरसिंह केसीले आनाकानी गरेपछि रामचन्द्रले त्यसको प्रतिवाद गरेका थिए । सिटौलाले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ मा भोला बोहरा र बलदेव तिमल्सिनाको नाम प्रस्ताव गरेका थिए । यसमा महत, केसी र शेखरले मौन समर्थन जनाएका थिए । बलदेव नहुने हो भने तपाईकै मान्छे भुपेन्द्र थापालाई उम्मेदवार बनाउन उचित हुने सुझाव सिटौलाले दिएका थिए । १ को प्रदेश २ मा भने यी ४ जना नेताले न्यौपानेको पक्षमा बोलेका थिए । तर पौडेलले देउवापक्षको भन्दा चर्को स्वरमा अडान राखेपछि श्रेष्ठ र खत्रीले टिकट पाउनुपर्ने भनेका थिए । वैठकमा न्यौपाने र थापालाई टिकट नदिन सवै भन्दा बढी अडान पौडेलले राखेका थिए । उनले थापा र न्यौपानेले चुनाव नजित्ने तर्क गरेका थिए । देउवा गुटमा आरजुमार्फत कुरा पक्का भैसकेकाले रामचन्द्रको समर्थनले टिकट दिने निर्णय गर्न सहज भएको थियो । रामचन्द्रको अडानले देउवा पक्षलाई पनि झन् सजिलो भएको थियो ।

सदस्य नै नभई टिकट !

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य श्रेष्ठले कांग्रेसको सदस्य नै नभई उम्मेदवार बन्ने अवसर पाएका छन् । उनी अहिलेसम्म कुन पार्टीको हो खुलेका थिएनन् । बहुदल आएको तीन दशक बित्न लाग्दा पनि उनी कांग्रेसको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । २०५६ सालमा उनले कांग्रेसलाई सघाएको जानकारहरु बताउँछन् । त्यतिबेला कांग्रेस उम्मेदवार बस्नेतको पक्षमा लहर चलेकाले उनी त्यतै लागेको अनुमान छ । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार राजकुमार श्रेष्ठको पक्षमा खुलेर भोट मागेका थिए । उनले यस पटक त राजकुमारलाई भन्दै हिँडेका थिए । २०७० को निर्वाचनमा एमाले उम्मेदवारको पक्षमा देखिएपछि सञ्चारमन्त्री बस्नेतको दबावमा चुप लगाइएको थियो ।

एमाले उम्मेदवार अरुण नेपालको पक्षमा स्थानीय रिसोर्टमा साथीभाई भेला गराएर छलफल गरेपछि बस्नेत आक्रोसित भएका थिए । बस्नेतले राजेन्द्रका भाई दिनेशमार्फत दबाव दिएका थिए । श्रेष्ठ दाजुभाईले बस्नेतको दाई गल्ती भयो भन्दै घरमै गएर माफी मागेका थिए । ‘बस्नेतको डरले मात्र उनी अरुणलाई खुलेर सहयोग नगरेका हुन्,’ स्रोतले भन्यो । उनले अरुणलाई प्रत्यक्ष सहयोग नगरेपनि खुलेर कसैलाई पनि भोट मागेनन् । स्थानीय निर्वाचनमा उनी अमेरिकामा थिए । बलेफि गाउँपालिका र उनकै वडा पनि कांग्रेसले हारेको थियो ।

ढुलमुल गर्दागर्दै उम्मेदवार !

उम्मेदवार सिफारिस हुनु अघि एमाले प्रबेशको तयारीमा रहेका खत्रीले कांग्रेसबाट उम्मेदवारी पाएका छन् । उनले यस अघि सवै निर्वाचनमा कांग्रेसलाई नै सघाउँदै आएका थिए । पार्टीको निर्वाचनमा पनि उनी महासमिति सदस्य निर्वाचित हुँदै आएका छन् । गत स्थानीय निर्वाचनमा भने उनको गाउँको दुवै वडामा एमालेले जितेको थियो । उनले असहयोग गरेकाले आफूले पराजित भएको भन्दै कांग्रेसमा बाह्रबिसे नगरपालिकाका मेयर उम्मेदवार तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत खत्रीसँग रिसाएका थिए । स्थानीय निर्वाचन सकिए लगत्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनको सिलसिलामा सभापति बालकृष्णले खत्रीमाथि आक्रमण प्रयास गरेका थिए । गाली गर्दै हातै हाल्न खोजेपछि खत्रीलाई संघको परिसरबाट भगाइएको थियो ।

त्यसपछि उनी एमाले प्रबेश गर्ने तयारीमा लागे । तातोपानीका अमृत खड्का, तरुण दल अध्यक्ष दोर्जे लामा र विष्णु श्रेष्ठले पार्टी छाड्ने तयारी गर्दा खत्रीसँग सल्लाह गरेका थिए । तर खत्रीले आफू पनि कांग्रेसमा बस्ने-नबस्ने ठेगान नभएकाले सल्लाह दिन नसक्ने जवाफ दिएका थिए । यसअघि पनि उनले पटक—पटक पार्टी छाड्ने घुर्की लगाउँदै आएका थिए । यस पटक पनि दसैं अघिनै एमालेसँग छलफल चलाएका थिए । एमाले प्रवेश गर्दा प्रदेशको चुनाव जितिन्छ कि जितिँदैन भन्दै वौद्ध स्थित एक रिम्पोन्छेसँग जोखना हेराएका थिए । ग्रहदशा ठिक रहेको र एमाले बाटै चुनाव जित्न सकिने सल्लाह रिम्पोन्छेले दिएका थिए । प्रबेशको तयारीका सिलसिलामा उनले एमाले नेताहरु इश्वर पोखरेल र सुरेन्द्र पाण्डेसँग भेटेका थिए ।
स्रोतका अनुसार जिल्लाका एमालेका सवै नेताहरुसँग कुरा मिलिसकेको थियो । ‘प्रधानमन्त्री शेरबहादुरले नै अनुरोध गरेपनि कांग्रेसमा नबस्ने र एमालेमा प्रबेश गर्ने बचन दिएका खत्री एक्कासी के कारणले रोकिए थाहा छैन ।’ एमाले स्रोतले भन्यो ।

भोटेकोसी गापाका अमृत, तरुण दलका जिल्ला अध्यक्ष दोर्जे र तातोपानीका विष्णुले कांग्रेस छाडेको अवस्थामा निर्वाचनको बेला खत्री पनि एमालेमा जाँदा अप्ठेरो पर्ने सोचेर सञ्चारमन्त्री बस्नेतले मेलमिलाप नीति लिएका थिए । त्यसका लागि मन्त्री बस्नेतले बालकृष्णलाई सम्झाउन निकै मेहेनत गर्नु परेको पारिवारिक स्रोतको दावी छ । खत्रीले सक्रिय रुपमा सहयोग गरेको भए आफूले चुनाव जित्ने निश्चित थियो भन्ने बुझाई बालकृष्णमा छ । खत्रीले एमाले उम्मेदवार निमफूञ्जो शेर्पालाई मेयरमा जिताउन आफू निश्क्रिय बसेको कांग्रेस कार्यकर्ताको बुझाई छ । खत्रीले चाहेको भए भोटेकोसी र बाह्रबिसे दुवैमा कांग्रेसले जित्ने कार्यकर्ताहरु बताउँछन् । शेर्पा जिताउन अप्रत्यक्ष सहयोग गरेकै कारण अहिले आफू बढी सुरक्षित भएको उनले बताउने गरेका छन् । मेयर जिताउन सहयोग गरेकाले शेर्पाले अहिले आफूलाई सहयोग गर्ने अपेक्षा उनको छ । उनले भोटेकोसी गाउँपालिकाको माओवादीका केन्द्रका उम्मेदवार राजकुमार पौडेल जिताउन भित्रभित्रै सहयोग गरेको भनाई छ । आफू प्रदेशमा टिकट पाउँदा राजकुमारको सहयोग हुन सक्ने आशामा आफ्नै पार्टीका उम्मेदवार शम्भु शेर्पाको पक्षका खुलेर लाग्न नसकेको फूलपिङकट्टीका एक कांग्रेस कार्यकर्ताले बताए ।

राजकुमार अहिले ‘सुन तस्करी’ को अभियोग लाग्ने सम्भावना भएपछि त्यसको डरले फरार छन् । निर्वाचन अघि नै राजकुमारलाई गाउँ आउने परिस्थिति बनाउन खत्री सक्रिय भएपनि अब त्यो अवस्था टरेर गएको छ । खत्रीलाई नै माओवादी प्रबेश गराउन पनि निकै प्रयास गरिएको थियो । तर त्यता भने उनले चासो नदिएको स्रोतको भनाई छ ।