मकाउमा नेपाललाई तेक्वान्दोमा पाँच स्वर्णसहित ऐतिहासिक सफलता

मकाउमा नेपाललाई तेक्वान्दोमा पाँच स्वर्णसहित ऐतिहासिक सफलता


– श्रीविक्रम भण्डारी (मकाउ)

मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । विभिन्न आठ तौल समुहमा प्रतिस्पर्धा गरेको नेपालले ५ स्वर्ण २ रजत र १ कास्य पदक गरि कुल आठ पदक जितेको छ ।

नेपाललाई पहिलो स्वर्ण करन कोइरालाले दिलाएका थिए । ५१ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका कोईरालाले फाइनलमा आयोजक मकाउका खेलाडी योङतोङलाई ३७–१४ को ठूलो अन्तरले पराजित गरेका थिए । करनले सेमिफाइनलमा हङकङका खेलाडीलाई पराजित गरेका थिए ।

त्यस्तै सेमिफाइनमा वाइ पाएर फाइनलमा प्रवेश गरेका शुक्रबहादुर विकले फाइनलमा आयोजक मकाउका खेलाडीलाई ३८–६ को ठूलो अन्तरले पराजित गर्दै नेपाललाई दोश्रो स्वर्ण पदक दिलाएका थिए । विकले ६३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरि विनिता घिमिरेले उत्कृष्ट खेलको प्रदर्शन गर्दै नेपाललाई तेश्रो स्वर्ण जिताएकि थिइन् । सेमिफाइनलमा वाइ पाएर सिधै फाइनलमा प्रवेश गरेकि विनिताले फाइनलमा मकाउकि खेलाडीलाई पराजित गरेकि थिइन् । विनिताले ३९ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकि थिइन् ।

चौथो स्वर्ण ४५ केजीमा मदन विकलेले जितेका थिए । उनले सेमिफाइनल र फाइनलमा बाई पाएर स्वर्ण पदक प्राप्त गरेका थिए । फाईनलमा हङकङका खेलाडीवाट मदनले बाई पाएका थिए । निकै सनसनीपूर्ण रहेका ६३ केजी तर्फको फाइनल प्रतिस्पर्धामा संजय पुनले बाजी मारेका थिए । पहिलो राउण्डमा पछि परेपनि दोश्रो र तेश्रो राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दे चीन पुनले पराजित गर्दै नेपाललाई पाँचौं स्वर्ण दिलाएका थिए । पुनले चीनका खेलाडीलाई २२–१६ को अन्तरले पराजित गरेका थिए ।

त्यस्तै स्वर्ण पदककि प्रवल दाबेदार तथा थाइल्याण्डमा हालै सम्पन्न तीरक अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताकि स्वर्ण पदक विजेता सुनिता तामाङ प्राविधिक कारणले पराजित भएकि थिइन् । मकाउकि खेलाडी भन्दा १६–१० ले अग्रता कायम गरेपनि उनले पराजयको मुख देख्नु परेको थियो । अन्तिम १० सेकेन्ड सुनिताको लागि निकै भारी बन्यो । परिणाम, उनले रजत पदकमै चित्त बुझाउनु प¥यो । यसैगरि ५३ केजी तौलतर्फ विकास गौतमले पनि रजत तथा रोशन नेपालीले काश्य पदक जितेका थिए । यसरी नेपाली खेलाडीहरुले आठै तौल समुहमा अन्तराष्ट्रिय पदक जित्न सफल भएका थिए । यो राष्ट्रिय तेक्वान्दो संघ नेपालको लागि ऐतिहासिक सफलता बनेको छ ।

नेपाली तेक्वान्दो खेलाडीहरुले मकाउ ओपनमा उत्कृष्ट प्रदर्शन प्राप्त गरेपछि संघका महासचिव राजकुमार कार्कीले यसलाई ऐतिहासिक विजयको संज्ञा दिएका छन । छोटो समयको तयारीमा समेत खेलाडीको अन्तर्राष्ट्रियस्तरमा यस्तो प्रदर्शन गर्नु तारिफयोग्य भएको बताए । त्यस्तै संघका उपाध्यक्ष तथा टीम म्यानेजर हरिबहादुर बुढाथोकिले यो उपलब्धिलाई जोगाउन अझ मेहनत गर्नुपर्ने जिम्मेवारी आएको बताए ।

त्यस्तै तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा पूर्व मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले खेलाडीहरुको यो प्रदर्शनले तेक्वान्दो स्तरीयतालाई अन्तराष्ट्रियस्तरमा समेत स्थापित गरेको बताए । आफुले यी दुई प्रतियोगितावाट तेक्वान्दोमा आशालाग्दा र उदीयमान खेलाडी देखेको प्रस्ट पारे । अव यिनीहरुलाई निखार्ने कार्यतर्फ आफु लाग्ने सुनाए । त्यस्तै नेपाली तेक्वान्दाका टीम प्रशिक्षक पदमबहादुर केसीले खेलाडीको प्रदर्शनले आफुलाई निकै संतुष्टि प्रदान गरेको वताए । यसैगरि आयोजक कमिटीका सदस्य रमेश जंग थापाले मकाउमा नेपाली खेलाडीको यो नै सर्वोकृष्ट प्रदर्शन भएको र नेपाल र नेपालीको नाम राखेकोमा गौरवान्वित भएको बताए ।

मकाउ तेक्वान्दो संघका अध्यक्ष वलियम वङले पदक विजेता नेपाली खेलाडीहरुलाई एक समारोहका बीच पदक वितरण गरेका थिए । सो अवसरमा राखेप कानुनी शाखा प्रमुख नारायणराज अर्याल, लेखा अधिकृत ऋषिराम पोखरेलको उपस्थिति रहेको थियो ।