संसारको राजनितीक एवं सामाजिक परिवर्तनमा बिशेष गरेर बिद्यार्थी वर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । त्यस पछि मजदूर र किसान बर्ग । कुनै पनि काम एउटा बर्गले शूरु नगरेसम्म अगाडी बढ्दैन । राजनितीक एवं सामाजिक परिवर्तनका निम्ति गरिने आन्दोलन प्रायजसो बिद्यार्थी वर्गबाटै शूरु भएको पाइन्छ । यदि सामाजिक यथार्थताका गतिमान तरंग बुझ्ने शासकहरुले शासन गरेको खण्डमा जोसुकैबाट शुरु गरिएको भएपनि आन्दोलनहरु कामयाव हुन्छन् । तर यदि शासकहरु दृष्टिबिहीन भइदिए भने आन्दोलन, संघर्ष वा बिद्रोहले कुनै माने राख्दैन । बरु नरसंहार हुने सम्भावनाहरु रहन्छ त्यसैले आन्दोलनकारीहरु आफू शहीद हुन सक्ने मनोेबिज्ञानले समेत प्रेरित भएको हुनु पर्दछ ।
गत मइ १० तरिकका दिन भएको जुलुस प्रदर्शन भने शिक्षक, प्राध्यापक, सरकारी कर्मचारी एवं प्रहरी लगायतबाट अघि बढाइयो । यो विरोध प्रर्दशन पाइरहेको सुविधा भन्दा बढी पाउने माग राखेर हैन, विशुद्ध राजनैतिक परिवर्तनका निम्ति पनि होइन र सुविधा सम्पन्न हुन अथवा खाइपाई आएको जागीरको तलव बढाइयोस् भनेर पनि हैन । यो बिरोध प्रर्दशन त आफूले उमेर छ“दा काम गरेर सरकारलाई धितो स्वरुप राख्न दिएको पेन्सिन कट्टा नगरियोस् भनेर हो । पाइआएको अन्य वेलफेयरमा कट्टा नगरियोस् भनेर हो । शिक्षालार्ई व्यापार गर्ने भाडो नबनाइयोस् भनेर हो ।
हुन त आन्दोलनको शुरुवात बिगत २०१० साल नभेम्बर महिना देखि बिद्यार्थीहरुबाटै भएको थियो । सरकारले बजेट कट्टा गर्ने क्रममा खाइपाइ आएको पेन्सन पनि कट्टा गरिदिदा सम्पूर्ण वर्गमा निराशा पलाएको थियो तर आन्दोलनकारीहरुले आशा गरेको भन्दा बढी जनता सडकमा ओर्लिदा उनिहरुमा उत्साह पलाएको छ भने कन डेम मिलिजुली सरकारलार्ई सोच्नु पर्ने गराएको छ ।
गत वर्ष २०११ मार्च २६ गते टियुसीले आव्ह्वान गरेको विरोध प्रर्दशनमा झण्डै आधा मिलियन बेलायतीहरुले लण्डनको सडक छापेका थिए । त्यतिखेर कन्जरभेटिभ एंव लिवरल डेमोक्रेटहरुको मिलिजुली सरकारले विश्वविद्यालयको शुल्क बृद्धि गरेको र अन्य वेलफेयर कट्टा गरेको विरोधमा आव्ह्वान गरिएको थियो । त्यस्तै जुन ३० का दिन भएको जुलुस प्रदर्शन बिगत २० बर्ष यताको सवभन्दा ठूलो मानिएको थियो ।
एउटा भनाइ छ “जहाँ अन्याय हुन्छ त्यहाँ बिद्रोह हुन्छ, जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ ।” मलाई लाग्थ्यो यो त एउटा कम्युनिष्ट आदर्शको लोकप्रिय कथन मात्र हो । यद्यपी मैले बिद्रोह भनेको न्याय समानता सुख सन्तुष्टि एवं शान्ति खोजी गर्ने एक सामूहिक चेष्टा हो भन्ने चाँहि दह्रो गरी बुझेको थिंए । र मैले बिद्रोहमा वलिदान हुन्छ भन्ने पनि बुझेको थिँए । बिद्रोहमा हिँड्दा चुहेको पसिना र रगतको एक एक थोपामा न्याय र समानताका कोपीलाहरु पलाउंछन् भन्ने पनि नबुझेको हैन । यसरी उम्रने कोपिलाले आशा, उमंग, जोश, जाँगर र आँटको भकारी बोकेर आउने गर्छ भन्ने पनि बुझ्न भ्याएको थिएं ।
यस अर्थमा वेलाईतका शिक्षक, कर्मचारी, प्रहरी एवं स्वास्थ्यकर्मीहरुले गरेको यो आन्दोलन नितान्त जायज रहेको छ । उनिहरुले लण्डन, अक्सफोर्ड, म्यानचेष्टर आदि ठूला शहरहरु तताउनु स्वभाबिक रह्यो । अन्याएका बिरुद्ध जुध्नु प्राणी जगतको मनोबिज्ञान हो र नैसर्गिक अधिकार पनि । संसारका सबै मान्छे स्वार्थी हुन्छन् र आफनो स्वार्थ अनुकुलको वातावरण तयार पार्ने काममा अग्रसर हुन्छन् । फरक के मात्रै हो भने कतिपयले नितान्त आफ्नो ब्यक्तिगत स्वार्थमा तल्लीन हुन्छन् त कतिपय भने समाज र सामूहिक स्वार्थ । यतिखेर झण्डा बोकेर सडकमा निस्कने हरेक वर्गको स्वार्थ गाँसिएको छ । यसमा उनका बाबु आमाको स्वार्थ गाँसिएको छ, यसमा उनका छोराछोरीको स्वार्थ गाँसिएको छ, यसमा उनका साथीभाइको स्वार्थ गाँसिएको छ, यसमा मजदूर किसानको स्वार्थ गाँसिएको छ, यसमा सामान्य कामदारको स्वार्थ गाँसिएको छ । कर्मचारीको स्वार्थ गाँसिएको छ, शिक्षक, बिद्यार्थी, प्रहरी, स्वास्थ्य कर्मी सबै सबैको स्वार्थ गाँसिएको छ । समग्रमा हेर्दा नभेम्बर २०१० सालदेखि शूरु भएको यो आन्दोलनमा अहिले सम्म आँउदा समग्र बेलायतको स्वार्थ गाँसिएको छ । किन भने बेलायत यस्तो एउटा टापु हो जहाँ निर्यातका निम्ति आफ्नो उत्पादन भन्ने केही छैन, यहाँ सम्मम कि आफ्नो मुलुकलार्ई पुग्ने समेत छैन । बिगतमा विश्वको झण्डै एक चौथाइ भूभागमन राज्य गरेर कुम्ल्याएको सम्पत्तीको गोदाम अब बिस्तारै खाली हुन लागेको छ । कति होस र गोदाममा हाल्नु केही छैन, झिक्ने मात्र, एकदिन गोदाम रित्तिनु स्वभाबिकै हो ।
बर्तमान कन्जरभेटिब र लिबरल डेमोक्रेटिक मिलिजुली सरकारले आफ्नो गोदाम रित्तियो भनेर बूढाबूढीले जीवनभर काम गरेर आर्जन गरेको पेन्सिन कट्टा गर्नु, विश्वविद्यालयको शुल्क बृद्धि गर्नु न्याय सँगत पटक्कै हैन । यसको दुरगामी परिणाम नकारात्मक हुने छ । किन भने बेलायतको सामाजिक, आर्थिक, भौतिक एवं राजनैतिक अबस्थालाई हेर्दा यसको केही पनि निर्यात गर्ने अबस्था छैन । यसले त खानका लागि गोलभेडा देखि माछा मासु सम्म र लगाउनेमा जुत्ता देखि टोप समेत आयात गर्नु पर्छ । बेलायतसँग अब बचेखुचेको यसको शिक्षा क्षेत्रको इज्तत मात्र हो । अब यसले आफ्नो इज्जतलाई नगदमा परिणत गर्न सकनु पर्छ । शिक्षा, टेक्नोलजी र बिद्योता निर्यात गर्नेतर्फ लाग्नु पर्छ । यस निम्ति शिक्षालाई सस्तो, सुलभ बनाएर झण्डै २० प्रतिशतमा रहेका युवा बेरोजगारहरुलाई शिक्षित बनाउन प्रोत्साहन गर्नु पर्नेमा उल्टै शिक्षा महंगो बनाएर निरुत्साहित गरिरहेको छ ।
शिक्षा जति महंगो हुन्छ त्यति प्रतिस्पर्धा कम हुदै जान्छ । ठूलो रकम खर्च गर्न सक्नेलेमात्र बिद्या आर्जन गर्न सक्ने भयो भने विद्याको स्तर उच्च नहुन सक्छ किन भने त्यहाँ पढाइमा भन्दा मोटो रकम खर्च गरेर प्रमाण पत्र खरिद गर्ने प्रतिस्पर्धा बढी हुन जान्छ । महंगो रकम चुकाएर खरिद गरेको प्रमाण पत्रले स्वदेशमै काम पाउन कठिन हुन्छ अनि उसले बिदेशीसँग प्रतिस्पर्धा गर्न सक्तैन । महंगो रकम चुकाउन नसक्नेले उ सक्षम भए पनि शिक्षा आर्जन गर्नबाट बन्चित हुने छ । यो उसको मात्र अभाग नभई समग्र राष्ट्रको अभाग हुने छ किन भने राष्ट्रलाई चाहिने डाक्टर,
इन्जिनियर, बैज्ञानिक, राजनितिज्ञ एवं टेक्नीसियन मात्र उत्पादन हुन नसक्ने नभई दक्ष शिक्षक पनि उत्पादन हुने छैनन् ।
(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)
प्रतिक्रिया