दपू तमूधिं, लण्डनको बैठक

दपू तमूधिं, लण्डनको बैठक


लण्डन । हिजो प्लमस्टिडस्थित चौतारी रेस्टुरेन्टमा दक्षिणपूर्व क्षेत्रीय तमूधिं, लण्डनको साधारण बैठक समितिको अध्यक्ष क्याप्टैन रिटायर नारायण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । समितिका सल्लाहकारहरु क्रमशः सुमल कुमार गुरुङ, मोहन गुरुङ, चन्द्रमान गुरुङ, समितिका अन्य पदाधिकारीहरु र सदस्यहरुका सहभागिता रहेको त्यस बैठकमा समितिका आगामी दिनहरुमा हुने कार्यक्रमहरुबारे छलफल भएको थियो । भर्खरै सफलतापूर्वक सम्पन्न भएको बुद्ध जयन्तीको प्रतिवेदन संयोजक श्रीचन्द्र गुरुङले पेश गरेका थिए । अध्यक्षले ६ मेको दिनमा तमुधिं लण्डन इकाइद्वारा आयोजित नृत्य प्रतियोगितामा समितिलाई प्रतिनिधित्व गरी गएका नर्तकीहरुले दोश्रो पुरस्कार हासिल गरेकोमा बधाइ ज्ञापन गरेका थिए । नाचका प्रतियोगीहरुलाई तालिम तथा संयोजन गरेर नेतृत्व गरेका समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङलाई धन्यवाद दिँदै उनको योगदानबारे प्रशंसा गरेका थिए ।
त्यसै अवसरमा उपाध्यक्षले प्रतियोगितामा प्राप्त गरेको ट्रफी र पुरस्कार चेक हस्तान्तरण गरेका थिए । बैठकमा आगामी ८ सेप्टेम्बर २०१२को दिनमा सम्पन्न हुने च्यारिटी डिनरबारे सामुदायिक भवन निर्माणका संयोजक श्रीचन्द गुरुङले कार्यक्रमको रुपरेखाबारे बिस्तृत जानकारी दिँदै सबैबाट सल्लाह सुझाव मागेका थिए । बृहत छलफलपछि सो कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने सबैले प्रतिबद्धता जाहेर गरेका थिए । त्यसपछि सुमल कुमार गुरुङले दिनांक २३ जून २०१२को दिनमा धर्मगुरु खिम्पो बागिन्द्र शील, बौद्ध महासंघ नेपालका अध्यक्षद्वारा हरित तारादेवी पूजा तथा प्रवचन सम्पन्न गर्ने प्रस्ताव पेश गरेका थिए । सो कार्यक्रमका लागि विलविचस्थित एलसीएम कलेजमा हल बुकिङ भइसकेको तथा स्वयम् धर्मगुरु पूजाका लागि मञ्जूरी भएको कुरा बैठकलाई जनाउँदा सबैले सहमति जनाएका थिए । बैठकको अन्त्यतिर समितिका सदस्य सुमन गुरुङले दिनांक ८, ९, १० जून २०१२को दिनमा सबिता गुरुङबाट संयोजन गरिएको, विलविचमा सम्पन्न हुन गइरहेको हिभेन्ली पथका गुरुहजुरद्वारा दिइने प्रवचन कार्यक्रममा सबैलाई उपस्थित हुने आगर्ह गरेका थिए । -सुमल, मेस ।