ग्रीनिच कप फुटबल टूर्नामेन्ट

ग्रीनिच कप फुटबल टूर्नामेन्ट


लण्डन । हिजो आइतवार, दक्षिणपूर्व, लण्डनका नेपाली यूथ एसोसिएशनले युवा फुटबल खिलाडीहरुको खेलकुद प्रबर्धनकालागि बृहत फुटबल टूर्नामेन्टको आयोजना गरेको थियो । यस फुटबल टूर्नामेन्टमा लण्डनभित्र र लण्डनबाहिरका १७ वटा फुटबल क्लबका टिमहरुले भाग लिएका थिए । सफा मौसमबीच सम्पन्न मेरिडियन स्पोर्टस् क्लबका चारवटा मखमली घाँसे फुटबल मैदानमा प्रतियोगी क्लबका फुटबल खिलाडीहरु कप जित्नका लागि फुटबल मैदानमा भिडेका थिए । साउथइष्ट लण्डन नेपाली यूथ एसोसिएशन, ग्रीनिचले ६ वटा पेशेवार फुटबल रेफरीहरु विभिन्न स्थानीय क्लबहरुबाट प्रतियोगिताका लागि झिकाइएको थियो ।
प्रथम पटक आयोजना गरिएको खेलमा १५वटा टिमहरुलाई पराजित गरी फाइनल खेलका लागि मोङ्गोलियन ब्वाइज र एफसी तोङ्बा टिमहरु फाइनलमा पुगेका थिए । यी दुबै टिमका फाइनल खेल हेर्नका लागि स्थानीय वासिन्दहरुका गतिलो भीड थियो । खेल रोचकपूर्ण हुँदै अतिरिक्त समयसम्म १-१ गोलको बराबरीमा टुङ्गिएको थियो । अतः बिजेता टिमको निर्धारण गर्नका लागि ट्राइब्रेकर पेनाल्टि शूटको अधारमा निर्धारण गर्नु परेको थियो । खेलको अन्तिम चरणमा आइपुग्दा एफसी तोङ्बा क्लबका एकजना खिलाडी बाहिरिनु परेको थियो । ट्राइब्रेकरमा एफसी तोङ्बा क्लबले मोङ्गोलियन ब्वाइजलाई चारको विरुद्ध पाँच गोल दागेर बिजयी बनेको थियो ।
यस वर्षको कप बिजेता एफसी तोङ्बालाई १५०० पाउण्ड क्यासराशी र कप यूथ एसोसिएशनका अध्यक्ष हरि गुरुङले टिमका क्याप्टैनलाई हस्तान्तरण गरेका थिए । एसोसिएशनका सल्लाहाकार श्रीचन्द्र गुरुङबाट बिजयी टिमका खिलाडीहरुलाई स्वर्ण पदक वितरण गरेका थिए । यस वर्ष प्रदान गरिएको पुरस्कार राशी हालसम्म नेपालीहरुले खेलाउँदै आएका कुनै पनि फुटबल खेलहरुमा पुरस्कारस्वरुप प्रदान गरिने सबैभन्दा ठूलो राशी रहेको कुरा यूथ एसोसिएशनका प्रवक्ताले बताएका थिए । यस टूर्नामेन्टमा दोश्रो स्थान हासिल गरेको मोङ्गोलियन ब्वाइज क्लबलाई ५०० पाउण्ड क्याश रकम तथा रजत पदक यस प्रतियोगिताको संयोजक होम गुरुङले वितरण गरेका थिए । यूथ एसोसिएशनको निमन्त्रणामा आएका स्थानीय साफाका ग्यारीले बेस्ट खेलाडीको खिताब अथवा बेस्ट शिल्ड एफसी तोङ्बा क्लबका नम्बर ७ खेलाडीलाई प्रदान गरेका थिए । टूर्नामेन्ट अवधिभरि मौसम सफा रहेको थियो । फुटबल खेल हेर्न आउनेहरुका लागि यूथ एसोसिएशनले चियापानीको निःशुल्क व्यवस्था गरिएको थियो भने सःशूल्क खाजा नास्ताको व्यवस्था पनि थियो । -सुमल, मेस ।