एघार जिल्ला र तीन विभागीय टीमलाई भारोत्तोलन सामग्री

एघार जिल्ला र तीन विभागीय टीमलाई भारोत्तोलन सामग्री


नेपाल भारोत्तोलन संघले विभिन्न ११ जिल्ला तथा तीन विभागीय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भारोत्तोलन खेलकुद सामग्री वितरण गरेको छ । उक्त खेलकुद सामग्री राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले जिल्ला तथा विभागीय टोलीका प्रतिनिधिलाई प्रदान गरेका हुन् ।

जिल्लामा खेलकुद सामग्रीको अभावका कारण खेलाडी उत्पादनमा असर परेकोले संघले खेलकुद सामग्री वितरण गरेको हो । सहयोग पश्चात् नयाँ खेलाडी उत्पादन तथा खेलाडीको स्तरीयतामा वृद्धि हुने संघले विश्वास गरेको छ ।

खेलकुद सामग्री पाउने जिल्लाहरूमा झापा, सिराहा, सप्तरी, जनकपुर, चितवन, पर्सा, दाङ, बाँके, कैलाली, कंचनपुर, उदयपुर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । जसअनुसार ११ थान महिला रड, एक थान पुरुष रड, वेट स्ट्याण्ड ११ थान, पुरा भारोत्तोलन सेट ४ थान, प्लेटफर्म ६ थान र चक स्ट्याण्ड ९ थान रहेका छन् ।

नेपालमा पहिलो पटक आयोजना भएको एशियन जुनियर तथा युथ च्याम्पियनका दौरान राष्ट्रिय खेलकुद परिषद्, अन्तराष्ट्रिय भारोत्तोलन महासंघ, एयिशन भारोत्तोलन महासंघ र भारोत्तोलनको सामाग्री उत्पादन गर्ने चाइनिज कम्पनी जेडकेसीबाट आर्थिक तथा भौतिक सहयोगका रुपमा प्राप्त २ करोड बराबरको सामाग्रीमध्ये पहिलो चरणमा ६३ लाख ८० हजार बराबरको खेल सामाग्री आवश्यकता अनुसार विभिन्न जिल्ला र विभागीय टोलीलाई प्रदान गरिएको संघका सचिव एवं राखेपका पूर्वनिर्देशक तिलक राउतले जानकारी गराए ।