योङमुदो मास्टरसिपमा ७३ जनाको सहभागिता

योङमुदो मास्टरसिपमा ७३ जनाको सहभागिता


मित्र राष्ट्र कोरियामा आयोजना हुने जिन्चेन मार्सल आर्ट योङमुदो मास्टरसिप र जुनियर योङमुदो वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले विदाई गरेका छन् ।

विश्व योङमुदो महासंघको आयोजनामा हुने प्रतियोगितामा नेपाल योङमुदो संघका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा ४१ जना खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी तथा अफिसयल गरि ७३ जनाको टोलीले सहभागिता जनाउने छ । अफिसियल टोलीमा राष्ट्रिय खेलकुद परिषद आर्थिक प्रशासन शाखा प्रमुख कपिलमणी पोखरेल, हरिबहादुर राउत र जनार्जन ढुङ्गेलको समेत रहेका छन् ।

कार्तिक १९ देखि २४ गते सम्म संचालन हुने प्रतियोगितामा नेपाल सहित करिव ३२ राष्ट्रको सहभागिता रहने छ । उक्त च्याम्पियनसिप प्रतियोगिता मात्र नभई विभिन्न देशका सांस्कृतीक आदान प्रदानको कार्यक्रम समेत रहेको विदाई कार्यक्रममा जानकारी गराईएको थियो ।

सो अवसरमा बिष्टले आधिकारीक रुपमा नेपालको झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै विश्वका ठूला राष्ट्रलाई नेपालले खेल मार्फत मात्र पराजित गर्न सक्ने र त्यसै अनुरुप खेल खेल्दै राष्ट्रको लागि पदक प्राप्त गर्न खेलाडीलाई शुभकामना प्रदान गरे । टोली आज बिहिबार कोरियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।