वेलायत । वेलायतवासी किरात राईहरुले गत मे १२ तारिख शनिवार आस्फोर्डस्थित ग्रेटचार्ट मैदानमा, यो वर्षको उभौली साकेला चाड धुमधामका साथ मनाए । यो चाडलाई बर्षमा दुईपटक उभौंली र उधौंली गरी, ठूलो पर्वको रुपमा परापूर्व कालदेखि किरात राईहरुले मनाउँदै आएका छन् । यो पर्व विशेष गरी राम्रो अन्नबाली उब्जनी होस् र आउँदो बर्षमा अनिकाल र भोकमारी नलागोस् भनी पितृलाई गरिने पूजा हो । कार्यक्रममा वेलायतवरपर बसोबास गर्दै आएका किरात राईहरु र अन्य बिभिन्न जातिहरुको बृहत सहभागिता थियो । यो कार्यक्रमको संचालन चित्रबहादुर राईको प्रमुख अतिथि र किरात राई यायोक्खाको अध्यक्ष रामधन राईको सभापतित्वमा भएको थियो । कार्यक्रममा आस्फोर्डको डिपुटी मेयर बब डेभिड्सन, मगर एशोसिएसन केन्टको अध्यक्ष पदम आले, सगरमाथा नेपलिज कम्युनिटी, आस्फोर्डको अध्यक्ष पोपीराज राई, सुनुवार सेवा समाजको अध्यक्ष जंगबहादुर सुनुवार, तमूधिं यूकेको महासचिव ग्याम गुरुङ्ग, डा उषा सुनुवार, सुन्नुहोसडट्कम परिवार, बिएफबिएसकी संचालिका सिरीश सुनुवार र नयाँ सन्देश साप्ताहिक पत्रिकाको प्रधान सम्पादक चण्डिराज राईलगायत आमन्त्रित अन्य संघ संस्थाका प्रतिनिधीहरु पनि उपस्थित थिए ।
प्रमुख आकर्षणको रुपमा गत बर्षहरु जस्तै साकेला नाच प्रतियोगिता आयोजना गरिएको थियो । जस्मा ग्रेज, स्वीण्डन, ननिटन, बेजिङस्टोक, क्यान्टवरी, फोक्स्टोन, मेड्स्टोन, ग्रेटर रस्मोर, लण्डन र आश्फोर्ड गरी जम्मा १० प्रारम्भिक कमिटीका टीमहरुले सहभागिता जनाएका थिए । सबै सहभागि टीमहरुले आफ्नो आकर्षक नाच र बिभिन्न शिलीहरु प्रस्तुत गरेका थिए । बिजीडब्लुएस रेडियोकी संचालिका प्रमिला राईले त्यहाँको प्रत्यक्ष विवरण प्रस्तुत गरेकी थिईन् । सोही दिन, बीसी राईको एलवम शिलीको पनि विमोचन गरिएको थियो । जुन एलवममा चारवटा साकेला गीतहरु राखिएका छन् ।
५ जना मूल्यांकनकर्ताहरु रहेको प्रतियोगितामा, क्रमशस् आस्फोर्ड र ग्रेटर रस्मोर प्रथम र द्वितीय भएका थिए । प्रथम हुने टीमलाई रनिङशिल्ड र नगद तीन सय पाउण्ड, द्वितीय हुने टीमलाई २ सय र तृतिया हुने मेड्स्टोन र स्वीण्डनका टीमलाई १ सय पाउण्ड नगत पुरस्कार प्रदान गरियो । निर्णायकहरुमा मेड्स्टोनबाट गमशेर राई, आस्फोर्डबाट मानस राई, ग्रेजबाट शम्बीकुमार राई, स्वीण्डनबाट झलम राई र ननिटनबाट गोबिन्द राई थिए । निर्णायक मण्डलीको तर्फबाट बोल्दै, धर्मराज राईले यो केवल प्रतियोगिता मात्र नभएर, यस्ले हाम्रो आफ्नो पहिचान, संस्कृति र संस्कारको पनि संरक्षण र संबद्र्धन गरिरहेको कुरा ब्यक्त गरेका थिए ।
किरात राई यायोक्खाको अध्यक्ष रामधन राईले साकेलाको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै, उपस्थितिको लागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले प्रवासमा रहेरपनि किरात राईहरुले आफ्नो संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धनमा खेलेको भूमिकाको प्रसंशा गरेका थिए । र किरात राई यायोक्खाले छुट्टै साकेला थान किन्ने पहल गरिरहेको कुरापनि जानकारी गराए । महासचिव पदम राई र सचिव चन्द्र राईले कार्यक्रम संचालन गरेका थिएभने, संस्थाको तर्फबाट किरात राई यायोक्खाकी उपाध्य कल्पना राईले स्वागत मन्तब्य दिएकी थिईन् ।
-योग राज राई
प्रतिक्रिया