महिलाबाट पुरुष पीडित

महिलाबाट पुरुष पीडित


घरेलु हिंसाबाट प्रायः महिला पीडित हुने भए पनि पहाडी जिल्ला लमजुङमा भने ४० प्रतिशत पुरुष पनि पीडित हुने गरेका पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको तथ्याङ्कमा ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला पीडित बनेको उल्लेख छ ।

पुरुषहरू वैदेशिक रोजगारबाट फर्कंदा श्रीमती र आफूले पसिना बगाएर कमाएको सम्पत्ति दुवै गुमाएर प्रहरीमा ठाडो उजुरी गर्ने पुरुषको सङ्ख्या बढेपछि प्रहरीले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर जोडिएको सम्बन्ध पति विदेश गएपछि एकाएक भत्कने क्रमसँगै पुरुष पीडित बन्ने गरेका हुन् । पत्नीको परपुरुषसँगको सम्बन्ध मात्र नभई पतिले कमाएको सम्पत्तिसमेत लिएर हिँडिदिनाले सदरमुकाम बेसीशहरमा मात्र दर्जनौँ जोडीको सम्बन्ध छुट्टिएको छ । आफू विदेश गएपछि छोराछोरीलाई अङ्ग्रेजी शिक्षा पढाउनका लागि श्रीमतीलाई सहरमा राख्ने चलनसँगै विछोड हुने जोडीको सङ्ख्या बढ्दै गएको हो ।

छोराछोरीको भविष्य उज्यालो बनाउन र श्रीमतीलाई सुख दिन सहरमा राख्ने गरे पनि कतिपय महिलाले परपुरुषलाई साथी बनाउने र त्यो सम्बन्ध पछि गएर यौन सम्बन्धमा परिणत हुने गरेको छ । त्यस्ता महिलाले पति विदेशबाट नफर्कंदै सम्पत्तिसहित लिएर छोराछोरीको बिचल्ली पार्दै परपुरुषसँग भागी विवाह गरेपछि खासगरी सहरी क्षेत्रमा पुरुषहरू पीडित हुने गरेका हुन् ।

यस्ता महिलाको कतिपय अश्लील भिडियोसमेत बेलाबखत सार्वजनिक हुने गरेको छ । मोबाइलबाट खिचिएका यस्ता भिडियोहरू खिच्नेहरूले बार्गेनिङ गर्दै रकम असुल्ने गरेका छन् । पति वैदेशिक रोजगारीमा रहेर लामो समय बेसीशहरमा र हाल काठमाडौंमा रहेकी एक महिला आफ्नो नाम नबताउने सर्तमा भन्छिन्, ‘करकापले यौन सम्बन्ध राख्दा थाहै नदिई मोबाइलबाट आफ्नो भिडियो खिचिएकोले अहिले अप्ठेरो अवस्था परेको छ ।’ ती महिलाले अश्लील भिडियोको कारण आफूले लाखौँ रुपैयाँ बुझाइसकेको र पतिसँगको सम्बन्ध समेत बिग्रिएको बताइन् ।

पति विदेशमा बसेर परिवारको भविष्यका लागि पसिना बगाए पनि कतिपय महिला भने स–साना छोराछोरीलाई समेत छोडेर परपुरुषसँग घुम्न जाने र रात बिताएर फर्कंदा छोराछोरीसमेत अप्ठेरोमा पर्ने गरेका छन् ।

दोस्रो विवाह गरेर महिनौँ हराएकाहरूसमेत पति विदेशबाट आएपछि विवाह गरेको छैन भन्दै उल्टै पतिका नाममा समेत उजुरी दिएर हैरानी गर्ने गरेका छन् । महिला अधिकारका बारेमा चर्को बहस भइरहेका बेला वैदेशिक रोजगारीमा गएर फर्कने पुरुष एकपछि अर्को पीडित बन्दै गए पनि यो विषयमा कुनै निकायले पनि चासो देखाएका छैनन । लैङ्गिक हिंसाको बारेमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्था जिल्लामा भए पनि यो विषयमा चासो लिने गरेका छैनन् ।

पति र पत्नीबीच आएको चिसोपनको कारण जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदका मुद्दासमेत वर्षेनी बढ्ने गरेको छ । लमजुङ जिल्ला अदालतले गएको आर्थिक वर्षमा एक सय ६० वटा मुद्दा फस्र्योट गरेकोमा ५० वटा मुद्दा सम्बन्धविच्छेदको रहेका थिए ।
-Source: Ghatana Ra Bichar Weekly