‘खेलकुद परिषदका कर्मचारी नै खलनायक !’ : विभागीय प्रमुखको खुलासा

‘खेलकुद परिषदका कर्मचारी नै खलनायक !’ : विभागीय प्रमुखको खुलासा


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख बासुदेव आचार्यले मुख खोलेपछि अहिले खेलकुदमा तरङ्ग उत्पन्न भएको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको स्थायी तथा बढुवासम्बन्धी कार्यमा खेलकुद परिषदकै कर्मचारी बाधक बनेको खुलासा गर्दै उनले फेसबुक स्टाटस लेखेका थिए । उनको उक्त स्टाटसपछि परिषदभित्र भइरहेको खुट्टा तान्ने फोहरी खेल र खलनायकीको पर्दाफास भएको छ ।

परिषदमा विगत ११ वर्षदेखि स्थायी तथा बढुवा प्रक्रिया रोकिएको छ । लामो समयदेखि बढुवा तथा स्थायी प्रक्रिया अगाडि बढ्न नसकेपछि परिषदमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारी पटक–पटक राखेपको ध्यानाकर्षण गर्दै आएका छन् । सो क्रममा ती कर्मचारीले स्थायीको माग गर्दै परिषद घेराउ, अनशन र तालाबन्दी समेत गरिसकेका छन् । त्यसपछि परिषदले कर्मचारीको माग पुरा गर्ने प्रतिबद्धता जाहेर गरेपनि अहिलेसम्म सो विषयमा टुङ्गोमा पुग्न सकेको छैन । राखेपको प्रतिबद्धता प्रतिबद्धतामै सीमित रहेको छ ।

पछिल्लो समयमा अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई स्थायी र बढुवा गर्नुपर्ने कुरामा परिषद सम्वेदनशील बनेको थियो । परिणामतः ती कर्मचारीहरू आशावादी समेत बनेका थिए । तर, राखेपका विभागीय प्रमुख बाशुदेव आचार्यले हालै यो विषयमा भैरहेको ढिलासुस्ती असहयोगको बारेमा पोल खोलेपछि ती कर्मचारीमा निरासा बढ्नुका साथै उनीहरू आक्रोशित बन्न पुगेका छन् ।

आचार्यले आफ्नो स्टाटसमा पूर्वसाथीहरूले आफ्नो व्यक्तिगत कुरा मात्र गर्ने संस्थाको कुरा नगर्ने भनी गम्भीर आरोप लगाएका छन् । साथै आचार्यले परिषदका कर्मचारीहरुको स्वार्थी र नालायकीपनले यो कार्य सफल होला जस्तो लाग्दैन भनेर लेखेका छन् । आचार्यले उनलाई कसले असहयोग गरिरहेको छ, त्यसको बारेमा खुलेर नलेखेपनि अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूमाथि खतराको संकेत भने देखाएका छन् ।

यो विषयमा राखेपका विभागीय प्रमुख बासुदेव आचार्यसँग सम्पर्क गर्दा उनले कर्मचारीको नाममा नेतागिरी गर्छन्, काम केही गर्दैनन् भन्ने जवाफ दिए । उनले भने– ‘प्रशासन प्रमुखको नाताले मैले फलोअप गरेको हुँ तर यो कार्यमा सहयोग गर्नेभन्दा असहयोग गर्ने बढी देखेँ । मुलुक भोली संघीय संरचनामा जाँदैछ, त्यो बेला राष्ट्रिय खेलकुद परिषद रहन्छ कि रहदैन, त्यो भन्दा अघि यो कार्य सल्ट्याउन पाए राम्रो हुन्थ्यो ।’

राखेपमा अहिले एक हजार जनाको दरबन्दी रहेको छ । त्यसमा अहिले ६ सय ९० जना स्थायी कर्मचारी रहेका छन् । ३ सय १० जनाको स्थायी दरबन्दी अहिले खाली छ । त्यही खालि रहेको ३ सय १० जनाको स्थायी दरबन्दी राखेपले अहिलेसम्म पूर्ति गर्न सकेको छैन ।