छात्रवृत्ति दिने विद्यार्थी भेट्टाउन गाह्रो

छात्रवृत्ति दिने विद्यार्थी भेट्टाउन गाह्रो


विद्यार्थीलाई छात्रवृत्तिका बारेमा जानकारी नै नहुँदा छात्रवृत्ति दिने निकाय अन्योलमा पर्ने गरेको छ। विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले शैक्षिक वर्ष २०६४-०६५ बाट शुरु भएको दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको थियो। आर्थिक रूपले विपन्न, पिछडिएका क्षेत्रका, जेहेनदार वा दलित विद्यार्थीलाई लक्षित गरी कक्षा ११ र १२ मा विज्ञान संकाय र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो।

‘विद्यार्थीलाई सही समयमा जानकारी दिन नसकेको कारण छात्रवृत्ति वितरणमा समस्या हुन थालेको हो ।’–समितिका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले बताए । ‘छात्रवृत्तिका लागि कोटाभन्दा कम विद्यार्थीको मात्रै आवेदन पर्ने गरेको छ, हामीले बुझाउन नसकेको कारण समस्या परेको हो ।’ –उनले भने ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि व्यवस्था गरिएको सो छात्रवृत्ति हालसम्म करिब ४ हजार विद्यार्थीले मात्र प्राप्त गरेका छन्। पछिल्लो तथ्यांकअनुसार कार्यक्रम शुरु भएको तीन वर्षमा शैक्षिक वर्ष २०७१-७२ मा कक्षा ११ र १२ मा ३ सय २८ जनालाई मात्रै छात्रवृत्ति प्रदान गरिएको थियो। यस्तै शैक्षिक वर्ष २०७२-७३ मा ४ सय ३६ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिएको थियो ।

यस्तै स्नातकतर्फ दोस्रो वर्ष १ हजार ९ सय ३३ जनालाई मात्रै उक्त छात्रवृत्ति प्रदान गरिएको थियो । पहिलो वर्ष भने २ हजार ५ सय ९१ जना उक्त छात्रवृत्तिका लागि योग्य भएका थिए । कस्ता विद्यार्थीले छात्रवृति पाउने भन्ने विषयमा उचित जानकारी गराउन नसक्दा समस्या पर्दै गएको छ । छात्रवृत्तिका लागि थुप्रै विद्यार्थीले पीएमटी फारम भरेका भए पनि थोरै विद्यार्थीले मात्रै छात्रवृत्ति पाउने गरेका छन् ।

कक्षा ११ अध्ययन गरिरहेका विद्यार्थीले कक्षा १२ लाई निरन्तरता दिएपछि मात्रै छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।

समितिद्वारा कक्षा ११ र १२ मा प्रतिवर्ष ५ सय र स्नातक तहमा २ हजार ५ सय विद्यार्थीलाई प्रदान गरिने उल्लेख गरिएको थियो। गरिब लक्षित पन्चवर्षीय परियोजनाअन्तर्गत सो छात्रवृत्ति १४ हजारभन्दा धेरै विद्यार्थी लाभान्वित भएको र हाल उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत सञ्चालित यो कार्यक्रमले ९ हजार ५ सय विद्यार्थीलाई छात्रवृत्ति दिने योजना रहेको छ।

समितिमार्फत् पहिलो वर्षमा ७ करोड र दोस्रो वर्षका लागि १६ करोड रुपियाँ वितरण गरिएको थियो । उक्त समूहका कक्षा ११ र १२ मा विज्ञान विषय तथा स्नातक तहमा जुनसुकै विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । (नेपाल समाचारपत्र)