आइटीएफ तेक्वान्दोमा आर्मी र मध्यमाञ्चलले बाजी मारे

आइटीएफ तेक्वान्दोमा आर्मी र मध्यमाञ्चलले बाजी मारे


१७ औं सिनियर तथा १० औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा च्याम्पियन बनेका छन् ।

नुवाकोटमा भएको प्रतियोगितामा आर्मीले ८ स्वर्ण, ५ रजत र १ कांस्यसहित टिम च्याम्पियन बनेको हो । ६ स्वर्ण, ६ रजत र ३ कांस्यसाथ एपीएफ क्लब दोश्रो तथा २ स्वर्ण, ७ रजत र ३ कांस्यसाथ पश्चिमाञ्चल तेश्रो भएका छन ।

नुवाकोट जिल्ला आईटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको जुनियरमा मध्यमाञ्चलले ८ स्वर्ण, ६ रजत र ३ कांस्य हात पार्दै च्याम्पियन बनेको छ । दोश्रो भएको एपीएफले ४ स्वर्ण, ५ रजत र ६ कांस्य जितेको थियो ।

सिनियरको पुरुषमा सागर कुँवर तथा महिलामा रन्जु पुलामी मगर उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा युनिश गौतम तथा महिलामा विपना मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारै खेलाडी मध्यमाञ्चलका हुन् । चारैले खेलाडीले दोहोरो स्वर्ण जितेका थिए । चारैले स्पाइरिङ र प्याटर्न स्पर्धामा स्वर्ण जितेका हुन् ।

विजेतालाई नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधान, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमलालगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।