घलेगाउँमा ४३ लाख खर्चेर बास्केटबल र ब्याडमिन्टन कोर्ट

घलेगाउँमा ४३ लाख खर्चेर बास्केटबल र ब्याडमिन्टन कोर्ट


सार्क भिलेज घलेगाउँमा बास्केटबल, भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । संगै स्पोर्टस् भवन निर्माण गरिएको छ ।

क्व्होलासोंथर गाउँपालिका वडा नं. ३ मा पर्ने घलेगाउँमा आउने पर्यटक तथा स्थानीय युवालाई लक्षित गरी खेलकुद मैदान निर्माण गरिएको हो । यस्तै, फुटवल खेल मैदानको स्तरोन्नति पनि गरिएको छ । घलेगाउँमा निर्माण गरिएको खेलकुद संरचनाको एमाले केन्द्रीय सचिव एवं प्रदेश सभा (ख) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र संविधान सभा सदस्य जमिन्द्रमान घलेले शनिबार उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरि पौडेल, क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ, अखिल नेपाल महिला संघकी अध्यक्ष यसोदा रिमाल, एमाले क्व्होलासोंथर गाउँ संगठन कमिटीका सचिव सूर्य गुरुङ, युवा संघका गण्डकी अञ्चल संयोजक गोविन्द बस्नेत, बेलायती सेनाका सेवानिबृत्त नवराज घले, रणबहादुर गुरुङ, जंगबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कूल ४३ लाख २२ हजार ५ सय ५ रुपैयाँ लगानीमा खेलकुद संरचनाको निर्माण गरिएको हो । खेलकुद संरचना निर्माणका लागि विदेशबाटमात्रै ३५ लाख ६७ हजार ६ सय ९८ रुपैयाँ संकलन भएको छ । यसमा बेलायतबाटमात्रै २८ लाख २० हजार ८ सय १६ रुपैयाँ सहयोग प्राप्त भएको तिजे उत्तरकन्या स्पोर्टस क्लवका सविच आशबीर गुरुङले जानकारी दिए ।

खेलकुद संरचना निर्माणका लागि बेलायतसंगै हङकङ, अमेरिका, फान्स, अष्ट्रेलिया, दुबई, साउदी, बेल्जियम, दार्जिलिङ लगायत ठाउँबाट सहयोग प्राप्त भएको उनले बताए । यस्तै, पर्यटन बोर्डबाट ६ लाख, घलेगाउँस्थित चियापत्ति ब्यवस्थापन समिति १ लाख र तारागाउँ विकास समिति १ लाख रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा बेलायत सेनाका सेवा निबृत्त रणबहादुर गुरुङले घलेउत्तर कन्या प्राविलाई एउटा कम्प्युटर प्रदान गरेका थिए ।

खेलकुद संरचना उद्घाटनका अवसरमा कन्याज्योति युवा क्लवका कलाकार, राष्ट्रिय कलाकार गणेश गुरुङ, विष्णु गुरुङ, निस्ता गुरुङ, सविना गुरुङ, भारती घले, शंकर गुरुङ ‘बतासे’ लगायतले सांगीतिक प्रस्तुती प्रदर्शन गरेका थिए । कार्यक्रम तिजे उत्तरकन्या स्पोर्टस् क्लवका अध्यक्ष एवं क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतामा भएको थियो ।