एकैपटक २०० सरकारी अधिकारीमाथि अकुत सम्पत्ति अभियोगमा अख्तियारको छानविन

एकैपटक २०० सरकारी अधिकारीमाथि अकुत सम्पत्ति अभियोगमा अख्तियारको छानविन


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ ।

श्रोतका अनुसार अकुत सम्पत्ति कमाएको अभियोगमा अवकासप्राप्त र वहालवालासहित गरि ४० जना इन्जिनियर, २० जना सुरक्षा निकायका उच्च पदस्थ अधिकारी र पाँच जना सचिवसमेतमाथी छानबिन थालेका हुन् ।

त्यस्तै, २० जना डाक्टर, विभिन्न सार्वजनिक संस्थानका प्रमुखसमेत अख्तियारको अकुत सम्पत्ति छानविनमा परेका छन् ।

यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको थियो । अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ले दिएको रिर्पोटका आधारमा उक्त छानविन पक्रिया थालिएको हो ।

त्यसबाट ‘सर्टलिष्टेड’ गरेर पाँच सय अधिकारीको नाम तयार गरिएको थियो । पाँच सय मध्येबाट पनि दुई सयमाथि छानविन थालिएको हो ।

सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको अख्तियार स्रोतको दावी रहेको छ ।

यसअघि अख्तियारले पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो ।