राखेपमा लाभको पद चर्चा : कोषाध्यक्ष हमालको राजीनामा स्वीकृत

राखेपमा लाभको पद चर्चा : कोषाध्यक्ष हमालको राजीनामा स्वीकृत


  • श्रीविक्रम भण्डारी, 

राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले आफ्नो पदवाट राजीनामा दिएका छन । हमालले गत कार्तिक १५ गते युवा तथा खेलकुद मन्त्रालयमा राजीनामा दिएका थिए । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सोही दिन हमालको राजिनामा स्वीकृत गरेका थिए ।

बाँके जिल्ला निर्वाचन क्षेत्र नम्वर २ ‘ख’ प्रदेशसभाको सदस्यको उम्मेद्वार बनेपछि सुरेन्द्र हमालले परिषदको कोषाध्यक्ष पदवाट राजिनामा दिएका हुन । हमाललाई नेपाली कांग्रेसले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको हो । हमाल भारोत्तोलन खेलका चर्चित खेलाडी हुनुको साथै पूर्व ओलम्पियन खेलाडी पनि हुन ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदको सदस्यद्वय शकुन्तला नगरकोटी र मोहम्मद समि उल्लाहको नाम नेकपा एमालेको तर्फवाट पेश गरिएको समानुपातिकको बन्दसूचीमा रहेको छ । नेकपा एमालेले बन्दसूचीमा नाम परेपछि सदस्य उल्लाहले परिषदमा राजीनामा दिएको जानकारीमा आएको छ ।

उल्लाहले राखेपमा बुझाएको राजीनामामा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई सम्वोधनगरि सदस्य सचिव केशवकुमार विष्टमार्फत बुझाएको राखेप स्रोतले बताएको छ । तर सदस्य नगरकोटीले राजिनामा दिए नदिएको अहिलेसम्म थाहा हुन सकेको छैन । यो वारेमा नगरकोटी संग सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन् । नगरकोटीको मोवाइल अफ थियो ।

सरकारी सेवा सुविधा र लाभको पदमा भएको व्यक्तिले अनिवार्य राजिनामा दिनुपर्ने कानुनी व्यवस्था छ । राखेपको सदस्य पद लाभको पदमा पर्छ या पर्दैन त्यसको यकिन नभएपनि राखेप स्रोतले यसलाई लाभको पद भनेको छ ।

यसर्थमा कि राखेपको सदस्यले परिषदको बैठक भक्ता, बैदेशिक भ्रमण भक्ता र लुगा भक्ता लिदै आएका छन् । अर्को कुरा अन्य दुई जना हमाल र उल्लाहको राजिनामाले पनि यसलाई पुस्टि गर्छ ।

सुरेन्द्र हमाल, शकुन्तला नगरकोटी र मोहम्मद समी उल्लाह मन्त्री परिषदको निर्णयवाट राष्ट्रिय खेलकुद परिषदको वोर्ड सदस्यमा नियुक्ति भएका हुन् ।