याक अट्याक साईकल दौड प्रतियोगिता बेसीशहरबाट शुरु

याक अट्याक साईकल दौड प्रतियोगिता बेसीशहरबाट शुरु


विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ सस्करण आईतबारबाट शुरु भएको छ । उच्च हिमाली क्षेत्र अन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरीएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेसीशहरबाट शुरु भएको हो ।

अघिल्लो वर्षहरुमा काठमाण्डौबाट शुरुभएको प्रतियोगिताको दशौँ र ११ औँ सँस्करण बेसीशहरबाट शुरु भएको हो । समुन्द्री सतहदेखी ५ हजार ४ सय १६ मीटर उचाईमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरि प्रतियोगिता शुरु भएको हो ।

दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल सहित १० देशका ३१ जना प्रतियोगी सहभागी भएका छन् । प्रतियोगितामा एक महिला सहित आठजना नेपालीले सहभागिता जनाएका छन् ।

बेलायती नागरिक फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको ब्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकोले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरीएको निर्देशक इभान्सले बताउनुभयो ।

प्रतियोगिताबाट नेपालको पर्यटन प्रर्वद्धनका लागि सहयोग पुगेको प्रतियोगिता संयोजक गौरवमान शेरचनले बताउनुभयो । पैदल यात्राको लागि साहासिक मानिएको अन्नपुर्ण पदमार्गमा साईकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उहाँको भनाई छ ।

प्रतियोगिहरु पहिलो दिन लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङको ताल पुग्नेछन् भने दोश्रो दिन तालबाट माथिल्लो मनाङ, तेश्रो दिन थोरङला फेदी, चौँथो दिन पाँचहजार चारसय १६ मिटर उचाईको थोरङला पास गरी मुस्ताङको मुक्तीनाथ पुग्नेछन् ।

पाँचौ दिन घिलिङ, छैटौँ दिन लोमान्थाङ पुग्नेछन् । सातौदिन लोमान्थाङ क्षेत्रमै प्रतियोगिता हुनेछ भने आठाँै दिन चुसाङ, नवौदिन म्याग्दीको तातोपानी र दशौँ दिन पोखरा पुग्नेछन् ।