राष्ट्रिय करातेः उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टीममा पर्ने

राष्ट्रिय करातेः उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टीममा पर्ने


राखेप च्याम्पियनसिप अन्तर्गत हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । कार्तिक २२ गते बुधबारदेखि संचालन हुने प्रतियोगिताको तयारी पूरा भएको हालै आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल कराते महासंघले जनाएको छ ।

प्राविधिक कारणले प्रतियोगिता निर्धारित समय भन्दा एकदिन अघि नै गर्न लागिएको संयोजक दीपक श्रेष्ठले प्रेस सम्मेलनमा जानकारी गराएका थिए । महासंघले यो भन्दाअघि कात्तिक २३ देखि २५ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको थियो । अव प्रतियोगिता कात्तिक २२ मा संचालन भै २४ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । जस्मा पुरुषतर्फ ८ र महिलातर्फ ७ तौलसमूहमा भिडन्त हुनेछ । त्यस्तै पुरुष-महिलाको एकल र टिम काता तथा टिम फाइटमा पनि प्रतिस्पर्धा हुने कराते महासंघका अध्यक्ष दावा गुरुङलले जानकारी गराएका थिए ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र विभागिय टोलीहरुमा त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबको सहभागिता रहने छ । प्रतियोगितामा १ सय ८४ खेलाडीको सहभागिता रहने जानकारी गराइएको छ ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिने छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।